कुशको शव बनाएर श्रीमानको दाहसंस्कार
नेपालगञ्ज – बर्दियाकी जयन्ती शाहीले बेपत्ता पारिएका श्रीमान हुकुमबहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गर्नु भएको छ ।
२०५८ चैत्र २४ गते राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान हुकुमबहादुरको अहिलेसम्म अवस्था सार्वजनिक नभएपछि जयन्तीका परिवारले कुशको शब बनाएर हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका हुन् ।
ठाकुरबाबा नगरपालिका वडा नं. ८, सुतैयाका हुकुमबहादुरलाई सशस्त्र द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेको थियो । बेपत्ता पारिएको २२ वर्षसम्म पनि हुकुमबहादुरको अवस्था सार्वजनिक नगरिएपछि कुशको शब बनाएर दाहसंस्कार गरिएको छ ।
श्रीमती जयन्तीले भन्नुभयो, ‘श्रीमान अझै जीवितै हुनुहुन्छ कि भन्ने मनमा आशा छ । टुप्लुक्क घर आइपुग्नु हुन्छ कि जस्तो लाग्छ । तर के गर्ने सरकार बोल्दैन, परिवार र समाजको दबाब त छदैछ । मन भारी बनाएर श्रीमानको अन्तिम संस्कार गरेको छु ।’
तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वकालमा बर्दिया जिल्लामा राज्य र माओवादी पक्षले २ सय ५० जना बेपत्ता पारेका छन् । यो बेपत्ता संख्या नेपालमै सबैभन्दा बढी हो । राज्य नबोल्दा बेपत्ता पारिएका व्यक्तिका आफन्ती गल्दै गएका छन् । बर्दियामा एक दर्जन र बाँकेमा आधा दर्जनबढीले आफन्तीको कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् ।