बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न सर्कुलर

नेपालगञ्ज –  नेपाली कांग्रेस, बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ ।

कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विधानतः सबै तहले गर्नुपर्ने बार्षिक सम्मेलन (वडादेखि क्षेत्र) बैशाख मसान्तसम्म गरिसक्न निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लामा कार्यक्रमहरु गरिँदा संस्थापक नेताहरुको फोटो मात्र राख्ने गरिएकोमा अबदेखि संविधान पिता सुशील कोइरालाको पनि फोटो राख्ने निर्णय गरेको कार्यबाहक सभापति अधिकारीले बताए ।

पार्टीका पूर्व जिल्ला सभापति गजेन्द्रबहादुर हमालले महासमिति सदस्यबाट दिएको राजीनामा पुनर्विचार गर्न अनुरोध गर्दै अस्विकृत गर्ने निर्णय गरिएको छ । तर, हमालले पार्टीभित्र उठाएको सनातन हिन्दु राष्ट्रको मागलाई जिल्लाको बार्षिक सम्मेलनमा प्रस्ताबका रुपमा लैजाने निर्णय पनि बैठकले गरेको कार्यबाहक सभापति अधिकारीले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !