होलीमा उत्श्रृंखल गतिविधि गरे कारबाही


नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले होलीमा अमर्यादित, उत्श्रृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले होली मनाउने नाममा अनावश्यक तडकभडक, खर्चिला, भड्किला कार्यक्रम गर्ने, झैझगडा, मादक पदार्थ सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरित रंग एवं पानीको लोला हान्ने, पानी छ्याप्ने, चर्को आवाजमा ध्वनि प्रदुषण गर्ने जस्ता अमर्यादित र कानुन विपरितका गतिविधि गरेमा कारबाही हुने बताउनुभयो । उहाँले ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै मनाउन आग्रह गर्नु भयो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय, बाँकेले नेपालगञ्जको वाटरपार्कमा सञ्चालन भइरहेको महोत्सवलाई होलीको दिन १२ गतेका लागि रोक लगाएको छ । चैत्र ६ गतेदेखि १८ गतेसम्मका लागि मेला सञ्चालन भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !