चिकित्सा शिक्षा आयोगविरुद्ध चरणबद्ध आन्दोलन घोषणा

नेपालगञ्ज – चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपाल, नेपालगञ्ज बाँकेले विभिन्न १४ बुँदे माग राखेर चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
संघर्ष समितिका बाँके संयोजक नन्दिता रिजाल र केन्द्रीय सदस्य सञ्जय सिंहले शुक्रबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर २७ गतेदेखि तेस्रो चरणको आन्दोलन शुरु गर्ने घोषणा गरेका हुन् । उनीहरुका अनुसार, पहिलो र दोस्रो चरणमा बौद्धिक आन्दोलनका कार्यक्रमहरु गरेपनि त्यसबाट निकास ननिस्किएपछि बाध्य भएर तेस्रो चरणको सडक आन्दोलन शुरु गर्न थालिएको हो ।
तेस्रो चरणको आन्दोलनको पहिलो दिन २७ गते ¥याली निकालिदैछ । यसबीचमा पनि समस्या समाधान नभए अरु सडक संघर्षका कार्यक्रमहरु अगाडि ल्याउने बाँके संयोजक रिजालले जानकारी दिनुभयो ।
संघर्ष समितिले निरंकुश, स्वच्छाचारी चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सिटीइभीटीको तुरुन्त पुनर्संरचना गर्नुपर्ने, स्तर उन्नति गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नु पर्ने, आयोग र सिटीइभीटीको बदनियतले बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल भर्ना खोल्नु पर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, छात्राबृत्तिमा विभेद अन्त्य गरी समानताका आधारमा छात्राबृत्तिको अवसर पाउने ग्यारेन्टी गर्नुपर्ने, नर्सिङलगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने, खुला बजार अर्थनीति अनुसार मूल्य निर्धारण हुने व्यवस्था गर्नुपर्ने मागहरु अघि सारेको छ ।
हरेक तहका लागि छुट्टाछुट्टै अस्पताल चाहिने अव्यवहारिक कार्यविधि खारेज गर्नुपर्ने, विश्वविद्यालय, प्रतिष्ठान, विषयगत काउन्सिलहरु र सिटीइभीटीको स्वायत्ततामाथि हस्तक्षे बन्द गर्नुपर्ने, डब्लुएचओको मापदण्ड अनुसारका सबै विधा समेटी दरबन्दी कायम गरी तुरुन्त पदपूर्ति गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा, सुरक्षित काम गर्ने, बृद्धि विकास तथा उच्च शिक्षा अध्ययनको अवसरको ग्यारेन्टी गर्नुपर्ने, देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र नेपाललाई मेडिकल, नर्सिङ तथा पारामेडिकल शिक्षाको गन्तब्य बनाउने नीति अख्तियार गर्दै शिक्षण संस्थाहरुमा कोटा पद्धति खारेज गर्नुपर्ने संघर्ष समितिले माग राखेको छ ।


error: यो सुविधा उपलब्ध छैन !