भेरीले मनायो, १३३ औं वार्षिकोत्सव

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले १३३ औं वार्षिकोत्सव मनाएको छ । बीर अस्पतालसँगसँगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रिफरल सेन्टरको रुपमा रहेको छ ।
वि.सं. १९४७ मा पृथ्वी–वीर डिस्पेन्सरीको रुपमा स्थापना भएको अस्पतालको रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अस्पताल नामाकरण गरिएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. बद्री चापागाईका अनुसार भेरीमा वर्षमा एक लाख ८० हजार चार सय ३२ जनाले सेवा लिएका छन् ।


भेरी अस्पतालले गुणस्तरसँगै सेवा थपिरहेको छ । कोरोनाकालमा भेरीले ठूलो सेवा दिएको थियो । अहिले सिकलसेलका विरामीलाई विशेष सेवा दिइरहेको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी संघमार्फत सञ्चालनमा रहेपनि प्रदेशले समन्वयसँगै गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।


अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न दलका नेता, अस्पतालका पूर्व प्रमुखहरुले अस्पतालको गुणस्तर र सेवालाई अझ प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए ।
सो अवसरमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !