नेपालगञ्ज  – एकदिवसीय विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ।

मंगलबार हरारेमा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीनको सम्भावना कायम राख्यो।

समूह ‘ए’अन्तर्गत आफ्नो दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालसमक्ष अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य ४२ बल बाँकी छँदै पूरा गर्‍यो।

नेपालको जितमा भीम सार्कीले ११४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ७७ रन बनाउँदा कुशल भुर्तेलले ३९ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी ३२ बलमा ३९ रनमा नटआउट रहे।

त्यस्तै, कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा आसिफ शेखले १२ रन बनाएका थिए। त्यस्तै, कुशल मल्लको १३ रन रह्यो।

अमेरिकाका लागि शौरव नेत्राभल्कर, नोस्थुस केन्जीङ्गे, निसार्ग पटेल र स्टेभन टेलरले समान १–१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाविरुद्ध नेपालले राम्रो सुरुवात गरेको थियो। पछिल्ला ओभरमा महँगो सावित हुँदा अमेरिकाले २०० रन पूरा गर्‍यो। नेपालका लागि आशा गरिएका लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय करिअरमा पहिलो पटक अमेरिकासँग विकेटविहीन बने।

उनले १० ओभर बलिङ गर्दा ५८ रन खर्चिएका थिए। यसअघि सन्दीप जिम्बाब्वेविरुद्ध पनि विकेटविहीन बनेका थिए। उनी लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटविहीन बनेका हुन्।

६५ रनमा ५ विकेट गुमाएको अमेरिकाका लागि पछिल्लोक्रमले उत्कृष्ट प्रदर्शन गरेको थियो। सातौं नम्बरमा ब्याटिङका लागि आएका शायन जहाँगिरले १०० रनको नटआउट शतकीय इनिङ खेले।

त्यस्तै, ओपनर सुशान्त मोदानीले ४२ रन बनाउँदा गजानन्द सिंहले २६ रन बनाए। त्यस्तै, जेसी सिंहले १२ रन बनाएका थिए।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिँदा गुल्सन झाले ३ विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीको नाममा २ विकेट रह्यो। ललित नारायण राजवंशीले १ विकेट लिएका थिए।