आठ वटा सहकारी एकीकरण

राप्तीसोनारी – बाँकेमा आठ वटा सहकारी एकीकरण भएका छन् ।
राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ८ मा सम्पन्न एकीकरण घोषणा कार्यक्रममा राप्ती सोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाका साना किसान सहकारीहरु एकीकरण भएका हुन् ।
एकीकरण हुने सहकारीमा राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरी, वडा नम्बर ४ मा रहेको सूर्यलक्ष्मी साना किसान सहकारी संस्था लिमिटेड, वडा नम्बर ५ मा रहेको सौगात साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।
बैजनाथ गाउँपालिकाको वडा नम्बर ६ मा रहेको लगनशिल साना किसान कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ८ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, खजरा गाउँपालिकाको वडा नम्बर २ र ८ मा रहेका नवज्योति साना किसान कृषि सहकारी संस्था लिमिटेड र हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड र जानकी गाउँपालिका – ६ मा रहेको आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्थाहरु एकीकरण भएका छन् ।
यी आठवटा सहकारी एकीकरण भएर राप्ती सोनारी – ८ मा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बनेको अष्टम साना किसानका मृख्य प्रवन्धक हरिश केसीले जनाकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीको प्रमुख आतिथ्यता र नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्मालगायतको उपस्थितिमा अष्टम साना किसानले उक्त आठवटा सहकारीको एकीकरण घोषण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रदेश सांसद चौधरीले देशमा सहरकारीको संख्या धेरै भएको तर गुणस्तर भने कम भएको बताउँदै अब सहकारीको संख्यालाई घटाउँदै सहकारीको गुणस्तरमा वृद्धि गर्न तर्फ सरकारले चासो दिनु पर्नेे बताउनुभयो ।
केन्द्रीय उपाध्यक्ष शर्माले महासंघले सहकारीमा देखिएका विकृतिलाई अन्त्य गर्न सहकारीको एकीकरण अभियान सुरु गरेको बताउनुभयो ।

अष्टम साना किसानको अध्यक्षमा वली सर्वसम्मत
साना सहकारीको एकीकरणसँगै कार्यसमिति चयन गर्ने काम पनि सम्पन्न भएको छ । एकीकरण भएका सहकारीहरुबाट चयन भएर आएका ११ जना सदस्यले अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष देवबहादुर वलीसहितको कार्यसमिति र लेखा समितिमा सर्वसम्मत चयन गरेका छन् । वली राप्ती सोनारी – ८ महादेवपुरीमा रहेको साना किसान कृषि सहरकारीका अध्यक्ष हुन् ।
कार्यसमितिको उपाध्यक्षमा जगद शाही चयन भए भने सदस्यहरुमा रुपाकुमारी बुढा, टेक आचार्य, लक्ष्मी चौधरी, चेतकुमारी बुढाथोकी, बिमला बुढाथोकी, कर्णबहादुर खड्का, सुनिता चौधरी, नेतराम गडरिया र जीवन कडेंल चयन भए ।
त्यस्तै लेखा समितिमा कमानसिंह खनालको संयोजकमा तीन सदस्य समिति पनि चयन गरिएको छ ।

१० हजार सदस्यको अवद्धता
एकीकरणपश्चात अष्टम साना किसान कृषि सहकारीमा १० हजार ५ सय सदस्य तथा शेयर पुँजी १० करोड ६ लाख रुपैयाँ रहेको छ । बचत ५९ करोड, ऋण ३८ करोड र सदस्यसँगको ऋण १ अर्ब १२ करोड रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !