बढ्दै थालासेमियाका विरामी
नेपालगञ्ज – थालासेमियाका विरामी बढेका छन् । बंशाणुगत रोगको रुपमा रहेको थालासेमिया थारु समुदायमा बढी देखिएको छ ।
विश्व थालासेमिया सचेतना दिवसका अवसरमा नेपालगञ्जमा आयोजित कार्यक्रममा कान्ति आरोग्य अस्पतालका डा. रोमा बोराले थालासेमियाका विरामीमा ८० प्रतिशत थारु समुदाय र २० प्रतिशत अन्य समुदाय रहेको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकामा १४ जना विरामी देखिएको त्यसमा थारु, मधेसी, मुस्लिम, जनजाती रहेका छन् ।
थालासेमिया सिकलसेल एनिमियाजस्तै रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याको रुपमा परिभाषा गर्दै एक लाखसम्मको औषधी निशुल्क दिने गरेको छ । रगतकै समस्या रहने थालासेमियालाई जनस्वास्थ्य समस्याको रुपमा राखेर सरकारले निशुल्क औषधी उपलब्ध गराउनु पर्ने सम्बद्धले माग गरेका छन् ।
बर्दियाका फकिरे थारु, दीपक थारु, बालकृष्ण चौधरीले थालासेमियाका विरामीलाई पनि राज्यले निशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँहरुले अहिले रगत खोज्न, आइरन जाँच गर्न र अस्पतालमा बेडको समस्या भोगिरहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले नेपालगञ्जमा थालासेमियाको पहिचान, उपचार र सचेतना फैलाउने काम गरिरहेको बताउनुभयो ।
डा. बोराका अनुसार, थालासेमिया रोक्नका लागि विवाह गर्दा नै ध्यान पु¥याउनु पर्छ । थालासेमिया भएका महिला र पुरुषका बीचमा विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालासेमिया छ भने उसले थालासेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्दछ । बच्चामा थालासेमिया सरिसकेको छ भने उसको विवाह थालासेमिया नभएकासँग विवाह गरिदिनु पर्छ । थालासेमियाको उपचार भन्दा पनि हुन नदिन विवाहमै ध्यान दिनु पर्ने डा. बोराको सुझाव छ ।