स्वागत-सम्मान, भित्तेपात्राे बिमाेचन


नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बांकेले नव वर्ष २०८० को शुभकामना आदान प्रदान, भित्तेपात्रो बिमोचन तथा बांकेमा आउने नयां कर्मचारीको स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

कर्मचारी मिलन केन्द्र, बांकेका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत तुलसीपुर इजलास, नेपालगञ्जका न्यायाधीश भानुभक्त शर्मा न्यौपाने, बांके जिल्ला अदालतका न्यायाधीश धनसिंह महरा, बांकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापाकाे उपस्थितिमा थियो ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रबाट प्रकाशित २०८० सालको भित्तेपात्रो बिमोचन गर्नुका साथै बांकेमा भर्खरै आउनु भएका ४ नम्बर वाहिनीपति सहायक रथी प्रकाश थापालाई स्वागत गरिएकाे थियाे ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेले भित्तपात्रोमा बांकेका सिक्टा सिचाई, ढकेरी वनस्पती उद्यान, वाटरपार्क, रानी तलाउ, बांके राष्टिय निकुञ्ज, पवित्र धार्मिक स्थलहरु, चोक चौराह र पार्कका चित्रहरु समेटिएको तथा बांकेका दानवीरहरु फत्ते वाल अस्पतालका दाता फत्तेजङ्ग शाह र वालकुमारी शाह, भेरी अस्पताल तथा महेन्द्र बहुमुखी क्याम्पसका जग्गादाता अवतारदेयी कसौधन, मंगलप्रसाद माबिका संस्थापक मंगलप्रसाद शास्त्री, सरस्वती माबिका जग्गादाता राम गुलाम बैश्य तथा धिराउलाल बैश्य, जयेन्दु बाल सुधार केन्द्रका जग्गादाता तप्तबहादुर सिंह तथा हेमरानी सिंहका शालिकहरुका तस्वीर उल्लेख गरेर मनकारी दातालाई मरोनोप्रान्त स्मरण तथा सम्मान गरिएको र जयेन्दु वाल सुधार केन्द्र तथा मानव सेवा आश्रमका जग्गादाता जयकेश सिंह तथा श्रीमती इन्दु सिंहलाई समेत सम्मान गरिएको बताउनु भयो ।

उच्च अदालतका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेले नव वर्षको अवसरमा शुभकामना दिनु हुंदै कर्मचारी मिलन केन्द्रले आउदा दिनमा समाज सेवा तथा मानव सेवाका गतिबिधि समेत सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

जिल्ला न्यायाधीश धनसिंह महराले भातृत्व तथा भाइचारा विकास गर्नेकाममा कर्मचारी मिलन केन्दले काम गर्दै जानु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कर्मचारीहरुले जनतालाई सेवा प्रवाह गरेर बचेको अतिरिक्त समय समाज सेवा तथा जनचेतना विकासका काममा लगाउनु पर्ने बताउनु भयो ।

बाहिनीपति सहायक रथी प्रकाश थापाले आउदा दिनमा यस क्षेत्रमा मानवीय तथा लोककल्याणका काममा नेपाली सेनाले समेत सघाउने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारीले मिलन केन्द्रले आउदा दिनमा बांकेमा समाज सेवा, मानव सेवा, अतिरिक्त क्रियाकलापका साथै पर्यटन संस्कृति प्रबर्दनका साथै गुणस्तरीय शिक्षा लगायतका बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !