वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि पहल अघि बढाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका १५ वटा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिलाई बुधबार कार्यालयमा बोलाएर नगर प्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । जेष्ठ नागरिकहरु चर्को गर्मी र चिसो मौसममा घण्टौंसम्म लामवद्ध हुँदा एकातिर सास्ती पाएको र अर्कोतर्फ बैंकको सेवा पनि प्रभावित हुने गरेको भन्दै वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आफुहरुको प्राथमिकतामा रहेको बताउनुभयो ।

नगरसँग पछि गाँभिएका वडा नम्बर १३ देखि २३ वडासम्म पहिलो चरणमा कम्तिमा घुम्ती शिविर भएपनि सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गर्नका लागि आवश्यक सहयोग उपमहानगरपालिका र वडा कार्यालयले गर्ने उहाँले बिश्वास दिलाउनुभयो ।

आगामी आवदेखि वडाभित्र रहेको बैंकलाई नै सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्राथमिकता दिइने भन्दै उहाँले नगरका सम्पूर्ण वडामा बैंक पुगोस भन्ने चाहना रहेको र त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताउनुभयो । वडा कार्यालयबाट घरदैलोमै बैंकिंग सेवा दिने तर त्यसलाई निरन्तर गर्नुपर्ने पक्षमा आफु रहेको उहाँको भनाई छ ।

सो अवसरमा उपप्रमुख कमरुद्धिन राईले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक तथा वित्तिय संस्थालाई उपमहानगरपालिकाबाट आवश्यक सहयोग गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, लेखा अधिकृत लोकेन्द्र रावत, अधिकृत प्रविन राना लगायतले सहजीकरण गर्नुभएको थियो ।

सो अवसरमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफुहरु सकारात्मक रहेको बताए । यसका लागि केन्द्रीय कार्यालयबाट अनुमति लिने प्रक्रिया तत्काल सुरु गर्ने उनीहरुले बताए । बैंकदेखि वडा कार्यालयसम्म रकम लिदा त्यसको सुरक्षा, विमा, पहिचानमा कठिनाई जस्ता समस्यातर्फ ध्यानाकर्षण गराइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !