खजुरामा बन्दैछन्, खेलकुदका ठूला संरचना

नेपालगञ्ज – बाँकेको खजुरालाई खेलकुदको उर्वरभूमि मानिन्छ । जिल्लामा हुने जुनसुकै खेलको प्रतियोगितामा खजुरा क्षेत्रको बलियो उपस्थिति हुने गर्दछ ।

आठौं राष्ट्रिय खेलकुदका चार वटा खेल खजुराले भब्य रुपमा सम्पन्न गरेर आफ्नो खेलकुदप्रतिको लगाव र उपस्थिति बलियो देखाइसकेको छ । खेलकुद ग्राम (शुक्र मावि खेलग्राम) मा महिला र पुरुषको भलिबल, महिलाको हक्की, डीगाउँको मिनि रंगशालामा पुरुष फुटबलको सेमिफाइनलसम्मका खेल र ज्ञानोदय नमूना स्कूलमा बक्सिङ प्रतियोगिता सफलपूर्वक सम्पन्न गरिएको थियो ।

खेलकुदमा जनप्रतिनिधिको चासो र स्थानीयको लगावले गर्दा खजुरामा खेलकुदका करोडौका संरचनाहरु बनिरहेका छन् । सीतापुरमा साढे चार विगाहमा खेलकुद ग्राम बनिरहेको छ । यो प्रोजेक्ट ५७ करोड ५६ लाखको रहेको छ ।
खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलका अनुसार, आर्थिक ०७६-७७ मा खेलकुद ग्राममा ५५ लाख रुपैया आएको थियो । ०७७-७८ मा २५ लाखको काम भएको छ । खेलकुद विकास मन्त्रालयले खेलकुद ग्राममा वर्षेनी सहयोग गरिरहेको छ । खेलकुद ग्राममा पर्खाल लगाउनेदेखि फुटबल मैदानको लागि माटोपटानको काम भएको छ ।

खेलकुद ग्राममा भलिबल स्टेडियम, प्याराफिटसहितको फुटबल मैदान, पौडीपोखरी, बहुउद्देश्यीय सभाहल, जीमहलदेखि खेलाडी आवासीय भवन बनाउने योजना रहेको छ । खेलकुद ग्राम निर्माणमा सरकारले वर्षेनी बजेट पठाएपनि थोरै पठाउदा यो सम्पन्न हुन लामो समय लाग्ने देखिएको छ । स्थानीयवासी एवं खेलकुदका अगुवा भीम वलीले सरकारले वर्षेनी दिने बजेट बढाएर छिटो काम सक्नु पर्ने बताउनुभयो ।

धेरै खेलकुदका संरचना एकै ठाउँमा बन्दै गरेकाले भविष्यमा यो ठाउँ खेलकुद पर्यटकीयस्थल बन्ने जानकारहरु बताउँछन् ।

खजुराको डीगाउँमा अर्को ठूलो खेलकुदको संरचना बनिरहेको छ, जसलाई मिनि रंगशाला भनिएको छ । चार वर्षदेखि मिनि रंगशालामा काम भइरहेको छ । अहिलेसम्म डेढ करोड बढीको काम भइसकेको योजना अधिकृत पौडेलले जानकारी दिनुभयो । अहिले प्रदेश सरकारले दिएको ७५ लाखको काम भइरहेको छ । त्यसअघि ४५, २५ र १० लाखको काम भइसकेको छ । ६ हजार दर्शक अट्ने प्याराफिटसहितको मिनि रंगशाला बनिरहेको छ । यही मैदानमा आठौको सेमिफाइनलसम्मका पुरुष फुटबल भएको थियो ।

खजुराको गौरीगञ्जमा क्रिकेट मैदान बनाउनका लागि दश लाखको काम भइसकेको छ । प्रदेश सरकारले यो पैसा दिएको थियो ।

योजना अधिकृत पौडेलले वडा नं. २ मा भलिबल, ३ र ४ नम्बरमा फुटबल र ८ नम्बरमा क्रिकेटलाई लक्षित गरेर संरचनाहरु बनिरहेको बताउनुभयो । पालिकाले खेलकुद संरचनासँगै खेलाडी प्रोत्साहन र मेयर कपमा लगानी गरिरहेको छ । मेयर कपका लागि हरेक वर्ष ५ लाख रुपैया बढी पालिकाले दिने गरेको छ । सिमलघारी, गौतमबस्ती, एफगाउँ र हालै गौघाटमा मेयर कप रनिङ शिल्ड भएको छ ।

पालिकाले खजुराबाट बाहिर ठूला प्रतियोगिता खेल्न जाने टीम र खेलाडीलाई केही न केही सहयोग गरिरहेको छ । टीम र खेलाडीलाई प्रोत्साहन गर्ने पालिकाले रणनीति अपनाउदै आएको छ । खजुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी धेरै जन्माएको छ । खजुराकी सोनिया भट्टले ओलम्पिक खेलेर आइसकेकी छन् । ओलम्पियन जन्माएको खजुराको नाम राख्ने काम लालबहादुर मल्ल, मानबहादुर काउचा, केशमाया श्रीस, आइतराम वली, नेरी थापा, विनु बुढामगरले गरेका छन् ।
ओलम्पियन, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी जन्माएको खजुरामा बनेका यी स्तरीय संरचनाले यस्ता खेलाडी उत्पादनमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।

खेलकुदप्रति स्थानीयको जागरुता र चासो अनि पालिकाको पूर्ण सहयोग हुँदा सहज रुपमा खेलाडी उत्पादन हुने सम्बद्धहरु बताउँछन् । पालिकामा पहुँच भएका जनप्रतिनिधि र व्यक्तिहरु हुँदा प्रदेश र संघबाट समेत ठूलो बजेट ल्याएर संरचना बनाउन सक्दो रहेछ भन्ने खजुराले उदाहरण दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !