२०७८ साल : कोरोना, बेमौसमी बाढी र बाघले दुःख दिएको वर्ष

नेपालगञ्ज – कात्तिकको पहिलो साता बाँकेमा ठूलो वर्षा भयो । यो बेमौसमी वर्षाले बाँकेका ४० हजार किसानको आँखाबाट आँशु झा¥यो । पाकेर काट्ने बेला भएको (कतै काटेर गरामा फिजाइएको) धान हेर्दा हेर्दै डुबेपछि किसानका आँखा रसाएका थिए ।

केही दिन निरन्तर वर्षा भयो । बचाउन सक्ने जति प्रयास किसानले गरे । बडो मेहनतले रोपेर फलेको धान आफ्नै आँखा अगाडि बग्दा र डुब्दा किसानका सपना चकनाचुर भए । त्यसो त हरेक वर्षको असार र साउनमा बाँकेका राप्ती नदी तटीय क्षेत्रका बासिन्दा डुवानमा पर्ने गर्दछन् । यो वर्ष त्यो बर्खामा किसानले ठूलो क्षति व्यहोर्नु परेन । बेमौसमी वर्षाले उनीहरुलाई रुवायो ।

जिल्ला विपद व्यवस्थापन समिति, बाँकेका अनुसार, जिल्लाका आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपैया बराबरको धानबालीमा क्षति पुग्यो । पालिकावाइज लिइएको तथ्यांकलाई आधार मानेर समितिले ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपैया राहत माग ग¥यो । ढिलो गरी केन्द्रले बाँकेमा १० करोड रुपैया राहतका लागि पठायो ।

जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण ग¥यो । बाँकेमा ३९ हजार ४ सय ८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर रहेको छ । गौरवको आयोजना सिक्टा सिंचाईले पूर्णता नपाउदा अहिलेसम्म यहाँका किसानले आकाशे पानीको घरमा खेती गरिरहेका छन् ।

२०७८ सालमा बाँकेमा बाघले आतंक मच्चायो । बाँके राष्ट्रिय निकुञ्ज र आसपासमा पर्ने राप्तीसोनारी गाउँपालिका र नरैनापुरमा बाघले ६ जना मान्छेको ज्यान लियो । राप्तीसोनारी गाउँपालिका वडा नं. १, गाभरमा होटलमा काम गर्ने एक जना भारतीयको बाघको आक्रमणबाट मृत्यु भयो । होटलमा काम गर्ने उनी साँझपख सडकतिर घुम्न निस्केको बेलामा बाघले आक्रमण गरेको थियो । पुसको २२ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ४ की लिला विष्टलाई बाघले आक्रमण ग¥यो । घाँस काट्न गएको बेलामा बाघले आक्रमण गर्दा विष्टको मृत्यु भयो । त्यसको दुई दिनपछि पुस २४ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ६ की चाँदनी थारुलाई बाघले आक्रमण ग¥यो । चाँदीलाई पनि घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरेको थियो । बाघले धमाधम मान्छेमाथि आक्रमण गर्न थालेपछि निकुञ्ज र प्रकृति संरक्षण कोषले समस्याग्रस्त बाघलाई नियन्त्रण गर्ने प्रयास ग¥यो । चाँदनीलाई आक्रमण गरेको ठाउँमा चितवन र बर्दियाबाट आएको टोलीले दुई वटा पाडा राखेर एक हप्तासम्म ढुकेर बसे । बाघ नजिक नै आएन । बाघलाई नियन्त्रण गर्ने प्रयास असफल भयो । यो बीचमा नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुरुवाका लखन गडरियालाई बाघले आक्रमण ग¥यो । गाई चराउन गएका लखनको बाघको आक्रमणबाट मृत्यु भयो ।

फाल्गुन ७ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण ग¥यो । राप्तीपीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएपछि निकुञ्ज र वन कार्यालय फेरि बाघ समात्नतिर लाग्यो । फाल्गुन ९ गते पाडो राखेर बस्यो । यो पटक भने बाघ नियन्त्रणमा आयो । उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा लगियो ।

बाघको संरक्षणका लागि बाँकेमा २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । सन् २०१८ को गणना अनुसार बाँकेमा २१ वटा बाघ छन् । निकुञ्ज भित्र भन्दा सामुदायिक वनमा आएर मान्छेमाथि आक्रमण गरिरहेकाले जिल्लामा बाघको संख्या बढेको आकलन गरिएको छ । निकुञ्जले बाघ गणना गरिरहेको छ ।

२०७८ मा कोरोनाले पनि पिछा छोडेन । पहिलो र दोस्रो लटमा हटस्पट बनेको बाँकेमा तेस्रो लहरको प्रभाव पनि बढी नै देखियो । पश्चिमबाट भारत जाने र फर्किनेको मुख्य नाका नेपालगञ्ज भएकाले यो नाका कोरोनाको जोखिममा परिरह्यो । २०७७ बैशाख १९ गतेदेखि कोरोना देखिन शुरु भएको बाँकेमा २०७८ चैत्र ९ गते मात्रै कोरोना शुन्य भयो । यो बीचमा ३ सय ५२ जनाले ज्यान गुमाए । २१ हजार ३ सय २७ जना संक्रमित भए । एक लाख २८ हजार ४ सय ४७ जनाको परीक्षण गरियो । कोरोनाको उच्च चाप रहेका बेलामा अक्सिजनको अभाव देखिदा त्यसले अधिकारीहरुलाई राम्रै पाठ सिकायो । भेरी अस्पताल, नेपालगञ्जमा लिक्विड अक्सिजन प्लान्ट जडान गरियो । अस्पताल र बनाइएको आइसोलेसन र क्वारेन्टाइन भरिदा धेरै विरामी अलपत्र परे । त्यसलाई व्यवस्थापन गर्न नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, भवानीयापुरमा २९ करोड ३८ लाख २ हजार ८९ रुपैयामा एक हजार बेडको होल्डिङ सेन्टर बनाइएको छ । कोरोनाजस्ता महामारीमा मात्रै होइन, यो होल्डिङ सेन्टर विपतिमा परेका मानिसलाई राख्ने भनिएको छ । जिल्लामा अधिकांशले कोरोनाको खोप लगाइसकेका छन् ।

यो वर्ष नेपालगञ्ज विमानस्थल पनि चर्चामा आइरह्यो । नेपालगञ्ज विमानस्थलमा अवतरण हुने र उड्ने बेलामा जहाजसँग जंगली जनावर ठोक्किए । धावनमार्ग नजिकै रहेको झाडीमा रहेका बँदेल, स्याल र खरायो जहाजमा ठोक्किए । बँदेल, स्याल र खरायो जहाजमा ठोक्किदा ठूलो मानवीय क्षति नभएपनि विमानस्थलको सुरक्षाप्रति प्रश्न उठेको छ ।

सांसद मोहन बानियालाई बलात्कारको आरोप लाग्यो । नेपालगञ्जको एक होटलमा जुम्लाकी शिक्षिकालाई जबरजस्ती गरेको आरोपमा सांसद बानियालाई पक्राउ गरियो । अदालतबाट ५ लाख धरौटीमा छुटेका छन् ।

सधैंझै २०७८ मा पनि नेपालगञ्जमा नेपालगञ्ज म्याराथन र प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता भयो । यी दुई ठूला खेलकुदका प्रतियोगिताले नेपालगञ्जलाई चर्चामा ल्यायो । बाँके सीमावर्ती जिल्ला भएकाले यहाँ अपराधका रेसियो बढी नै देखिन्छ । यो वर्ष पनि हतियारसहित नेपाली र भारतीय पक्राउ परे । लागु औषधी कारोबारको हब नै भएकाले नेपालगञ्जमा देशका विभिन्न शहरबाट लागु औषधी लिन आएका मानिस पक्राउ परिरहे । पुस ७ गते बाँके प्रशासनको अगुवाईमा पहिलो पटक बाँकेमा नेपाल र भारतका सीमावर्ती १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक बस्यो । नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा प्रमुख र भारतको सीमावर्ती सात जिल्लाका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराध नियन्त्रणमा एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

२०७८ सालमा बाँकेका ठूला प्रोजेक्टले दु्रतगतिमा काम हुन सकेन । आइसीपी, नौबस्ताको क्षेत्रीय कारागार, गनापुरको खुल्ला कारागार, नौबस्ताको औद्योगिक क्षेत्र निर्माणले गति लिन सकेनन् । बाँकेको खजुरामा निर्माण गर्ने निर्णय भएको लुम्बिनी प्रदेशको प्रादेशिक विश्वविद्यालयको निर्माण शुरु हुन सकेन । हात्तीपाइलेको रोगविरुद्धको १२ औं चरणको अभियान गरियो । जिल्लावासीले औषधी नखाइदिंदा यो अभियान लम्बिदै गएको छ । यो वर्ष पनि धेरैले औषधी खाइदिएनन् । यो वर्षमा नेवा देय दबु र सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को राष्ट्रिय सम्मेलन नेपालगञ्जमा भए ।

यो वर्ष ठूल्ठूला प्रोजेक्ट सफल भएर जिल्लावासीलाई खुशी तुल्याउनु भन्दा कोरोना, बेमौसमी वर्षा र बाघ आतंकले जनतालाई दुःख दियो ।


error: यो सुविधा उपलब्ध छैन !