गठबन्धनमा सकस, खजुरा माओवादीलाई !
नेपालगञ्ज – बाँकेमा पाँच दलीय गठबन्धनबाट एक दल अलग भइसक्दा अन्य दल अझै संभावनाको खोजीमा छन् ।
नेपाली कांग्रेसको संयोजनमा भइरहेको बैठकको शुरुवाती छलफलबाटै जनता समाजवादी पार्टी (जसपा) अलग भइसकेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृत अझै निरन्तर छलफलमा छन् ।
गठबन्धनमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका पेचिलो बनेको छ । नेपालगञ्ज उपमहानगरपालिका नपाउने भएपछि जसपा गठबन्धनबाट अलग भइसकेको छ । जसपाले नेपालगञ्ज, जानकी, डुडुवा र नरैनापुरमा दावी गरेको थियो ।
जसपा अलग भएपनि कांग्रेस, माओवादी र समाजवादी अझै सहकार्यको मिलन विन्दुको खोजीमा छन् । माओवादीले खजुरा गाउँपालिकासँगै नेपालगञ्ज, कोहलपर नगरपालिका वा राप्तीसोनारी गाउँपालिकामा दावी गरिरहेको छ । कांग्रेस खजुरा गाउँपालिका दिन तयारजस्तै छ ।
कांग्रेसले नेपालगञ्ज, कोहलपुर र राप्तीसोनारी दिन नसकिने जनाउ दिइसकेको छ । डुडुवा स्वतः कांग्रेसको भागमा देखिन्छ ।
कांग्रेसले नेपालगञ्ज र कोहलपुरमा माओवादीलाई उपमेयरसम्म दिन छलफल गर्न सकिने बताइरहेको छ । माओवादी कोहलपुरमा मेयरका लागि अगाडि बढिसकेको छ । समाजवादीले बैजनाथ गाउँपालिकामा दावी गरेको छ ।
पाँच दलीय गठबन्धनमा २०७४ सालमा जुन पार्टीले जितेको छ त्यहाँ त्यही पार्टीलाई दिने र एमाले वा अरु पार्टीले जितेको ठाउँमा निकटतम प्रतिस्पर्धी पार्टीलाई दिने मापदण्ड बनाइएको छ । यस हिसावले हेर्दा पनि माओवादी केन्द्र खजुरा गाउँपालिकामा मात्रै निकटतम प्रतिस्पर्धा रहेकाले त्यो उसकै भागमा जाने कांग्रेस नेताहरु बताउँछन् । बाँकेका आठ वटा पालिकामा माओवादीले एउटा पालिका पनि जितेको थिएन ।
जिल्लाका अरु पालिकाको हकमा कांग्रेसले कि जितेको छ कि भने निकटतम प्रतिस्पर्धी भएको थियो । बाँकेमा चार पालिकामा एमालेले जितेको थियो । दुई वटा गाउँपालिकामा कांग्रेस, एउटामा राप्रपा र फोरम (हाल जसपा) ले जितेको थियो ।
कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकासँगै अरु पालिकामा पनि नछोड्ने संकेत देखाइरहदा माओवादीको आँखा कोहलपुरमा बढी छ । कोहलपुरका एक कांग्रेस नेता भन्छन्, ‘कोहलपुर नगरपालिका कांग्रेसलाई दिने हो भने त घरको ढोका बन्द गरेर चुनावभरी अन्तै लुकेर बस्नु पर्छ ।’
कोहलपुरमा कांग्रेस ८३ मतले पराजित भएको थियो । गठबन्धनमा भागबण्डा मिलाउन सकस भइरहदा नेकपा एमाले भने भित्रभित्र चुनाव प्रसारमा लागिसकेको छ । टिकट पाउने नेताहरुलाई संकेत मिलिसकेको छ । यद्यपि, आधिकारिक रुपमा कसैको नाम बाहिर आएको छैन ।