दशैंका लागि मूर्ति बनाउदै छोटु

नेपालगञ्ज – नेपालगञ्जका छोटु केवटलाई यतिबेला दुर्गाको मूर्ति बनाउन भ्याइ–नभ्याई भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, घसियारन टोलका छोटुले टोलमै बसेर दुर्गाको मूर्ति बनाइरहेका छन् । छोटुले भारतमा मूर्ति बनाउन सिकेर आएका हुन् ।
आफ्नै दाई, भाई र अन्य केहीलाई साथमा लिएर छोटुले दशैंको घटस्थापनाका लागि टोलटोलमा राखिने मूर्ति बनाइरहेका छन् ।
नेपालगञ्जमा घटस्थापनाको दिनमा चोकचोकमा मूर्ति राखेर पूजा गरिन्छ । चोकचोकमा राखिने दुर्गाको मूर्ति भारतबाट ल्याउने गरेकोमा केही वर्षदेखि नेपालगञ्जमा बन्ने गरेको छ । नेपालगञ्जमा छोटुले जसरी अन्य चार जनाले मूर्ति बनाउने गर्दछन् ।
माटोबाट बनाउने मूर्ति २० हजारदेखि ५० हजारसम्ममा बिक्री हुने गर्दछ । छोटुले यसपाली दशैंका लागि एघार वटा मूर्ति बनाइरहेका छन् । छोटु भन्नुहुन्छ, ‘मलाई एघार वटा अर्डर छ । त्यही अनुसार मूर्ति बनाइरहेको छु । एउटा मूर्तिको मूल्य २५ हजारदेखि ५० हजारसम्म पर्छ ।’
घसियारनटोलको सामुदायिक भवनमा छोटुले धमाधम मूर्ति बनाइरहेका छन् । ‘यो वडा नं. ८ को अर्डर हो, बनाइरहेको मूर्ति देखाउने छोटुले भन्नुभयो, ४५ हजारमा बिक्री भएको छ ।’
छोटुलगायतले धमाधम मूर्ति बनाइरहेको देख्ने जोकोहीलाई दशैं नजिकिएको आभास हुने गर्दछ । दशैंमा नेपालगञ्जको प्रायः सबैजसो चोकमा यस्ता मूर्ति राखेर पूजा गर्ने गरिन्छ । पछिल्लो समयमा गाउँतिर पनि मूर्ति राखेर चोकमा पूजा गर्न थालिएको छ । भारतबाट मूर्ति ल्याउदा महंगो र झन्झटिलो हुने भएकाले स्थानीयले यही बनेका मूर्ति प्रयोग गर्न थालेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !