लोकल रक्सी खादै सीआइबीको इन्स्पेक्टर हुँ भनेपछि…

नेपालगञ्ज – होटलमा बसेर लोकल रक्सी खादै आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को इन्स्पेक्टर हुँ भनिरहेका दिपेन्द्र रोकायलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान दार्माकोट गाउँपालिकाका ३२ वर्षीय रोकायले लोकल रक्सी खादै फोनमा कसैलाई ‘केस मिलाइदिने र त्यसवापत ५० हजार लाग्ने’ बताइरहेको प्रहरीले सुनेपछि केरकार गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफू महाशाखामा कार्यरत सीआइबीको इन्स्पेक्टर हुँ भनिरहेका थिए । इलाका प्रहरी कार्यालय, कोहलपुरमा लगेर बुझ्दा ऊ ठग भएको खुलासा भएको डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । ‘कोहलपुरको बसपार्क एरियातिर बसेर आफूलाई सीआइबीको इन्स्पेक्टर भन्दै धाक देखाउदै सर्वसाधारणलाई त्रास देखाउने गरेको पाइएको छ, कोहलपुरका डीएसपी खनालले भन्नुभयो, माथिका हाकिमलाई पनि मिलाउनु पर्छ भनेर पैसा मागेको सुनिएको छ । कोसँग पैसा मागेको रहेछ । हामी खोज्दैछौं ।’
प्रहरीले जति पटक सोध्दा पनि सीआइबीको इन्स्पेक्टर भनिरहेका रोकायले सतर्क भन्दा खुट्टा मिलाउन जानेका थिएनन् । यसअर्थमा ऊ भगौडा सुरक्षाकर्मी होइन भन्ने बुझिएको प्रहरीको भनाई छ । केही दिनयता कोहलपुरमा चोरीका घटना बढेका छन् । रोकाय पनि त्यसमा संलग्नमध्येको हुन सक्ने आशंका गरिएको छ ।
मिसन रोकाय क्षेत्रीको नाममा खोलिएको उसको फेसबुक आइडीमा सीआइबीको लोगो राखिएको छ । डीएसपी खनालले अहिले उसलाई अभद्र व्यवहारमा कारबाही गर्ने र कोही ठगिएको खुलेमा ठगीमा समेत मुद्दा चलाउने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !