बन्दी राख्ने कार्यविधि छैन, खुल्ला कारागार तयार

नेपालगञ्ज – कारागार व्यवस्थापन विभागले देशमै पहिलो पटक बाँकेको गनापुरमा खुल्ला कारागार तयार गरेको छ ।
६ विगाह क्षेत्रफल ओगटेको खुल्ला कारागार परिसर भित्र ३७ वटा कोठा तयार गरिसकिएको छ । त्यसमा ३२ जना बन्दी राखिने नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरले जानकारी दिनुभयो । ‘यो देशमै पहिलो खुल्ला कारागार हो, जेलर सोनकरले भन्नुभयो, अहिले ३२ जनालाई बस्ने कोठा तयार भइसकेको छ । अझै डेढ सय जना बन्दीलाई राख्ने कोठा बनाउने योजना रहेको छ ।’
बाँकेकै नौबस्तामा तीन हजार क्षमताको क्षेत्रीय कारागार पनि बनिरहेको छ । निर्माणाधीन दुवै कारागारको अवस्था अवलोकन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहाल र निर्देशक रामचन्द्र तिवारीको टोली नेपालगञ्ज आएको छ ।
गनापुरको खुल्ला कारागार र नौबस्ताको क्षेत्रीय कारागारको अवस्था अवलोकन गरेपछि महानिर्देशक दाहालले दुवै ठाउँलाई छिटो भन्दा छिटो सञ्चालन गर्ने बताउनुभयो । ‘हामीले दुवै ठाउँमा छिटो सञ्चालन गर्ने गरी काम गरिरहेको छौ, महानिर्देशक दाहालले भन्नुभयो ।


खुल्ला कारागार त तयार भयो । तर, त्यहाँ कस्तो बन्दीलाई राख्ने कार्यविधि बनिसकेको छैन । कारागार व्यवस्थापन विभागका निर्देशक तिवारीले छिट्टै कार्यविधि बनाएर खुल्ला कारागार सञ्चालनमा ल्याइने बताउनुभयो ।
निर्देशक तिवारीले भन्नुभयो, ‘कारागार भनेको त सुधार गृह हो । उनीहरुको आचरणलाई सुधार गरेर समाजमा पुनस्र्थापना गराउने पनि हो । बन्दीको अवस्था हेरेर उनीहरुलाई बन्द कारागारमा मात्रै होइन खुल्ला कारागारमा राखेर सामाजिकीकरण गर्ने ऐनमा व्यवस्था भएकाले पूर्वाधार बनाएर कार्यविधि बनाई कार्यान्वयन गर्दै जान्छौं ।’ उहाँले दुई तिहाई कैद भुक्तान गरेको र आचरण सुधार हुँदै गएकालाई निश्चित शर्तका आधारमा बाहिर गएर काम गर्न पाउने गरी खुल्ला कारागारमा राख्ने बताउनुभयो ।
खुल्ला कारागारमा बस्नेहरु परिवारसहित बस्न र बाहिर काम गर्न पाउँछन् । नेपालमै पहिलो पटक बाँकेबाट यसको कार्यान्वयन हुँदैछ ।
बाँकेकै नौबस्तामा तीन हजार क्षमताको क्षेत्रीय कारागार बनिरहेको छ । पूर्वाधारका धेरै काम सकिएको नौबस्ता कारागार सञ्चालनमा आउदा बाँकेमा अहिले साढे तीन सय क्षमताको कारागारमा आठ सय जना बस्नु पर्ने बाध्यता हट्ने जेलर सोनकरले बताउनुभयो ।
विभागका निर्देशक तिवारीका अनुसार, नेपालमा अहिले १६ हजार कैदी बन्दी क्षमताको कारागार रहेका छन् । त्यसमा २५ हजार कैदी बन्दीलाई राखिएको छ । विभागले नुवाकोटको त्रिशुलीमा सात हजार क्षमताको केन्दीय कारागार बनाइरहेको छ । अरु १५÷१६ जिल्लामा नयाँ कारागार बनाउने योजना रहेको निर्देशक तिवारीले जानकारी दिनुभयो ।
विभागका महानिर्देशक दाहाल, निर्देशक तिवारीलगायतको टोली नेपालगञ्ज कारागारको पनि अवलोकन गरेको छ । साढे तीन सय क्षमताको नेपालगञ्जको कारागारमा अहिले आठ सय जना रहेको जेलर सोनकरले जानकारी दिनुभयो । नेपालगञ्ज कारागारमा लागु औषधीका बन्दी धेरै छन् । त्यसपछि कर्तब्य ज्यान, जबरजस्ती करणी, मानव बेचबिखनका कैदी बन्दी धेरै रहेका छन् । तयार भइसकेको खुल्ला कारागारलाई सञ्चालनमा ल्याइएमा कम्तीमा ३२ जना बन्दीले बाहिर काम गरेर परिवारसँग बस्न पाउने छन् ।


error: यो सुविधा उपलब्ध छैन !