ब्यारेकमा राखियो, श्री ५ पृथ्वीनारायण शाहको शालिक

नेपालगञ्ज – नेपाली सेनाको राँझास्थित इमामनगर ब्यारेकमा राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसहित एकता बाटिका निर्माण गरिएको छ ।
ब्यारेक हाताभित्र निर्माण गरिएको श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसहित एकता बाटिकाको शुक्रबार विहान नेपाली सेनाको पश्चिम कमाण्डका प्रमुख उपरथी प्रेम शाही, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्घाटन गर्नुभयो ।
शालिकको ब्याकग्राउण्डमा दायातर्फ गणेश भगवानको मूर्ति र बायाँतर्फ गोरखास्थित गोरखा दरबारको उपल्लो दरबारमा अवस्थित बज्र भैरवको मूर्ति राखिएको छ । शालिकको पछाडी गोरखा दरबार, गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरको प्रतिविम्ब रहेको छ ।
शालिकको दाया दक्षिणतर्फ नेपालको नक्सामा हिमाल, पहाड र तराई प्रतिनिधित्व गर्ने गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको महत्वपूर्ण नाका, सडक, नदी, शहर र सैनिक किल्लाहरु समेत प्रतिनिधित्व हुने गरी निर्माण गरिएको छ ।


नेपाली सेनाले हालै शुरु गरेको नदीमा आधारित कमाण्ड क्षेत्र पूर्व, मध्य, पश्चिम र उपत्यका छुटिने गरी राखिएको छ । नक्साको उत्तरतर्फ नेपाली सेनाको नयाँ झण्डा, विचमा पश्चिम कमाण्डको झण्डा र नम्बर ४ बाहिनीको झण्डासहित भैरवप्रसाद गणको झण्डासमेत प्रतिनिधित्व हुने गरी तयार गरिएको छ ।
शालिकको बायातर्फ फूलहरुद्वारा नेपालको राष्ट्रिय झण्डाको प्रतिक तयार गरी फूलको बगैचासहित सदैव रहने गरी एकता बाटिका निर्माण गरिएको भैरवप्रसाद गणका गणपति एवं प्रमुख सेनानी नकुल थापाले जानकारी दिनुभयो ।
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसहित एकता बाटिका उद्घाटन कार्यक्रममा श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, बाँकेका एसपी श्यामकृष्ण अधिकारी, अनुसन्धानका उपनिर्देशक नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !