चोरीमा १२ वर्षीय बालक संलग्न
नेपालगञ्ज – नेपालगञ्जको एक मोबाइल पसलमा भएको चोरीमा १२ वर्षीय बालकसमेत संलग्न रहेको पाइएको छ ।
साउन ८ गते पुष्पलालचोकस्थित बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा भएको चोरीमा १२ वर्षीय बालकसहित तीन जना पक्राउ परेका हुन् । सप्लायर्सबाट ५५ वटा स्मार्ट फोन चोरी भएको थियो ।
बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बस्ने २४ वर्षका सुमित शर्मा, वडा नं. १३ का १८ वर्षीय नानु खटिक र १२ वर्षीय बालकलाई ३६ वटा मोबाइलसहित पक्राउ गरेको छ ।
राती दुई बजेतिर भएको चोरीमा बालक सेन्ट्री बसेका थिए । दश लाख बराबरको मोबाइल चोरी भएको घटनामा बालकलाई मोबाइल बेचेपछि पैसा दिने भनिएको थियो । बाँके प्रहरीले बिहीबार अपरान्ह चोर र मोबाइललाई सार्वजनिक गरेको छ ।