खाली हुँदै कोरोना बेड, आइतबारदेखि कोहलपुरमा ओपीडी सञ्चालन

नेपालगञ्ज – बाँकेका चार वटा अस्पतालमा कोभिडका लागि छुट्याइएको ३ सय ६१ मध्येमा १ सय १९ बेड खाली भएका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टर बनेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेजदेखि कोभिडका लागि स्पेशल सेवा दिएका थप दुई अस्पतालको बेड खाली भएको हो ।
कोभिडको विरामी व्यवस्थापनमा खटिएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भेरी, मेडिकल कलेज, वेष्टर्न र युनाइटेडमा कोभिडका लागि ३ सय ६१ बेड छुट्याइएकोमा एक सय १९ बेड खाली रहेको जानकारी दिनुभयो ।
सबैभन्दा धेरै विरामीको चाप हुने गरेको भेरीको दुई सय बेडमध्येमा ४४ वटा खाली भएका छन् । अहिले त्यहाँ एक सय ४१ जना विरामी रहेका छन् । त्यसमा ३३ जना सिकिस्त रहेका छन् । कोहलपुर मेडिकल कलेजमा एक सय ३० मध्येमा ५२ वटा बेड खाली भएका छन् । अहिले त्यहाँ ७८ जना विरामी छन् भने ७० जना सिकिस्त रहेका छन् ।
कोहलपुर मेडिकल कलेजले कोरोनाको विरामी बढेपछि बहिरंग सेवा (ओपीडी) बन्द गरेको थियो । अस्पतालका निर्देशक डा. भोजराज जोशीले कोभिडका विरामी घट्दै गएर बेड खाली हुँदै गएकाले आइतबारदेखि ओपीडी सेवा सुचारु गर्ने जानकारी दिनुभयो । ‘आइतबारदेखि ओपीडी सेवा लगायत कोभिड÷नन कोभिड सम्पूर्ण सेवा सञ्चालन हुन्छ, निर्देशक जोशीले भन्नुभयो ।
कोभिडका लागि वेष्टर्न अस्पतालले १६ वटा सर्जिकल बेड छुट्याएको थियो । त्यसमा अहिले तीन जना विरामी छन् । १३ बेड खाली रहेका छन् ।
युनाइटेड अस्पतालले १५ बेड छुट्याएर कोभिडका विरामीको उपचार गरिरहेको थियो । अहिले त्यहाँ पाँच जना विरामी छन् । १० बेड खाली भएको छ ।
बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका विरामीको चाप रहेको छ । जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार, बाहिरी जिल्लाका एक सय ४२ जना र बाँकेका ८५ जनाको उपचार भइरहेको छ । जिल्लाको मृत्यु दर कम भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउनेको मृत्यु भने रोकिएको छैन । पछिल्लो दिनमा बर्दिया, दाङका धेरै विरामीको मृत्यु भइरहेको छ ।
बाँकेमा मृत्यु र संक्रमण दर घटेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले शुक्रबार जिल्लाका तीन वटा ल्याबमा ३ सय ४५ जनाको कोरोना परीक्षण गर्दा ८७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । भेरीमा २ सय २२ मा ५७ जना, कोहलपुर मेडिकल कलेजमा ६७ मा १२ जना र बागेश्वरी ल्याबमा ५६ मा १८ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकोमध्ये ३१ जना बाँकेका रहेका छन् ।
बाँकेका अस्पतालहरुमा नयाँ संक्रमित थपिने क्रम कम भएको छ । पछिल्लो दिनमा मृत्यु भएकाहरु लामो समयदेखि उपचारमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !