वडा नं. १२ मा १४ बेडको आइसोलेसन तयार

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आइसोलेसन वार्ड बनाइएको छ । चारजना महिला र १० जना पुरुषलाई राख्न सकिने गरि १४ बेडको अस्थायी आइसोलेसन तयार गरिएको वडा अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा र उपप्रमुख उमा थापा मगरले बिहीबार वडा कार्यालयमा आइसोलेसनको उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख राणाले कोभिड संक्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आईपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले वडा कार्यालयमा आइसोलेसन भएपछि वडाबासीलाई सहज हुने बताउनुभयो ।


वडाअध्यक्ष सुवेदीका अनुसार, भाडामा बस्ने र घरमा आइसोलेसनको सहज व्यवस्था हुन नसक्नेहरुका लागि लक्षित गरि आइसोलेसन तयार गरिएको हो । केही दिनमा चिकित्सक र औषधी सहितको घरदैलो अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
नेपालगञ्जमा यसअघि वडा नम्बर ४ ले दुईजना चिकित्सकसहित १० बेडकोे आइसोलेसन सञ्चालन गरिरहेको छ । उपमहानगरपालिकाले ह्वाइटहाउस र रामलिला मैदानमा आइसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वडाहरुमा चिकित्सक सहितको घरदैलो र सेनिटाइजर गर्ने कार्य चलिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !