अक्सिजन आयो, विरामी थप्दै मेडिकल कलेज

नेपालगञ्ज – मेडिकल कलेज, कोहलपुरमा एक ट्यांक अक्सिजन आइपुगेको छ ।
भारतबाट एक ट्यांक अक्सिजन आएसँगै बाँकेमा केही राहत मिलेको छ । अक्सिजन आएसँगै मेडिकल कलेजले थप ५० जना विरामीलाई भर्ना गर्ने तयारी गरेको छ । अक्सिजन अभावले गर्दा अहिले मेडिकल कलेजले सय जना मात्रै कोरोना संक्रमितको उपचार गरिरहेको छ ।
नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेश कनोडियाले नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजका इमरजेन्सीमा रहेका ५० जनालाई थपेर डेढ सय जनाको उपचार शुरु गरिने जानकारी दिनुभयो ।
‘भारतबाट अक्सिजन आउन शुरु भएको छ । यही ट्यांक गएर फेरि भरेर आउँछ । अब नियमित हुन्छ होला, यस्तो भएमा हामीले विरामी संख्या बढाउँदै लैजान्छौं, उपनिर्देशक डा. कनोडियाले भन्नुभयो, अक्सिजन सिलिण्डरहरु प्रयोग गरेर आज आएको एक ट्यांकलाई दश दिनसम्म पु¥याउने तयारीमा छौं ।’
सय जना विरामी हुँदा अहिले मेडिकल कलेजमा तीन सयदेखि साढे तीन सय वटा सिलिण्डर खपत भइरहेको छ । विरामी बढाउदा त्यो संख्या बढ्दै जान्छ । अक्सिजनको अभाव भएपछि मेडिकल कलेजले २२ गते विज्ञप्ती निकालेर नयाँ भर्ना रोकेको थियो ।
अक्सिजनको अभाव भेरी अस्पताल, नेपालगञ्जले पनि भोगिरहेको छ । भेरीमा अहिले तीन सय बढी विरामी छन् भने चार सय बढी सिलिण्डर खपत भइरहेको छ । भारतबाट लिक्विड अक्सिन नआउदा भेरीमा भण्डारण गर्ने ट्यांक ल्याएर पनि थन्किएको छ । अक्सिजन भण्डारण गर्नका लागि ट्यांक ल्याइसकेको छ । त्यसको फाउण्डेसन बनाइसकेको छ । लिक्विड अक्सिजन आउने वातावरण बनेमा एक हप्ता भित्र ट्यांक जडान गरेर पाइपलाइन जोडिने भेरीका मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । ‘एउटा ट्यांकमा २० हजार लिटर लिक्विड अक्सिजन हुन्छ । त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनबाट बेडबेडमा पु¥याउँछौं, मेसु डा. थापाले भन्नुभयो, यस्तो गर्दा अहिले नियमित रुपमा सिलिण्डरमा भरेको ग्यास भन्दा ढाईदेखि तीन गुणा सस्तो पर्न जान्छ ।’
बाँकेमा दैनिक दश जना बढीको मृत्यु भइरहेको छ । अस्पतालहरुमा अक्सिजनको अभाव हुँदा विरामीले राम्ररी उपचार पाइरहेका छैनन् । पालिकास्तरहरुमा बनेका आइसोलेसन सेन्टरहरुले पनि अक्सिजन पाइरहेका छैनन् । आइतबार कोहलपुरमा एक ट्यांक अक्सिजन आउदा जिल्लावासी खुशी भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !