६ महिनामा ५३ जना कुष्ठरोगी फेला

नेपालगञ्ज – बाँकेमा ६ महिनामा ५३ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
नयाँ फेला परेका कुष्ठरोगी खोज पड्तालबाट नभई आफै स्वास्थ्य संस्थाको सम्पर्कमा आएका हुन् । गाउँगाउँमा खोज्ने हो भने कुष्ठरोगी धेरै रहेको स्वास्थ्यकर्मीहरु नै आकलन गर्छन् ।
आइएनएफ साइनिङ अस्पतालले नेपालगञ्जमा आयोजना अभिमुखीकरणमा जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य निरीक्षक मानव नेपालीले प्रस्तुत गरेको तथ्यांकमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालगञ्जमा १४, जानकीमा १०, नरैनापुरमा ७, डुडुवा, बैजनाथ र कोहलपुरमा ५÷५, खजुरामा ६, राप्तीसोनारीमा एकजना कुष्ठरोगी फेला परेका थिए । आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा १ सय ३३ जना कुष्ठरोगी फेला परेका थिए । त्यसमा नेपालगञ्जमा २२, जानकीमा ३३, बैजनाथमा १९, खजुरामा १७, कोहलपुरमा १५, डुडुवा १४, नरैनापुरमा ८ र राप्तीसोनारीमा ५ जना थिए ।
आर्थिक वर्ष २०७६÷७७ मा साइनिङ अस्पतालमा एक सय ४५ जना कुष्ठरोगी आइपुगेका छन् । त्यसमा बाँकेका ५९ जना, बर्दियाका ३९, अन्य जिल्लाका ९ र भारतका २० जना थिए । २५ बेडको साइनिङ अस्पतालमा बाँकेलगायत विभिन्न जिल्लाका मानिसले सेवा लिने गरेका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, आइएनएफ साइनिङ अस्पतालका श्याम विके, पदम बुढाले समाजमा हुने भेदभाव र लाल्छनाका कारण कुष्ठरोगीहरु लुकेर बसेको बताउनुभयो । छाला सम्बन्धी समस्या भएपछि अस्पताल वा स्वास्थ्य संस्थामा आएकाहरुलाई जाँच गर्दा कुष्ठरोग देखा पर्ने गरेको छ । अस्पताल वा स्वास्थ्य संस्थामा आइपुग्ने रोगीले त्यसअघि धेरैलाई सारिसक्ने स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख शाहको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !