‘रन फर फन’मा रायमाझी फस्ट

नेपालगञ्ज – सेना दिवसको अवसरमा बाँकेमा आयोजना गरिएको दोस्रो नेचर कन्जरभेसन रन (रन फर फन) को हाफ म्याराथनमा खड्गबहादुर गणका सिपाही शिवबहादुर रायमाझी प्रथम भएका छन् ।
शमशेरगञ्जमा आयोजना गरिएको रन फर फनको हाफ म्याराथन (२१ किलोमिटर) रायमाझीले एक घण्टा दश मिनेट २१ सेकेन्डमा पूरा गरे । प्रथम भएका रायमाझीले ५० हजार रुपैया हात पारे ।
हाफ म्याराथनमा भैरवनाथ गणका भेषराज बास्तोला दोस्रो भए । उनले एक घण्टा १८ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरे । बास्तोलाले ३० हजार रुपैया पुरस्कार पाए ।


नेपालगञ्जका ललित शाही तेस्रो भए । एक घण्टा २१ मिनेट ४२ सेकेन्डमा दौड पूरा गरेका शाहीले २० हजार रुपैया पुरस्कार पाए । दौडमा मख्खन बस्नेत चौथो र विरेन्द्र राई पाँचौं भए । बस्नेतले दश हजार र राईले पाँच हजार प्राप्त गरे ।
महिलाको दश किलोमिटर दौडमा रोजिना भण्डारी प्रथम भइन् । ३९ मिनेट ४० सेकेन्डमा दौड पूरा गरेकी भण्डारीले ३० हजार रुपैया पुरस्कार पाइन् । दौडमा सीता चौधरी दोस्रो र पूर्णिमा खड्का तेस्रो भइन् । उनीहरुले क्रमशः २५ हजार र २० हजार रुपैया पाए ।
५ किलोमिटर महिला र पुरुषको दौड गराइएको थियो । महिलातर्फ बालकुमारी थारु प्रथम, सपना थारु दोस्रो र कुसुम रावल तेस्रो भइन् । पुरुषतर्फ अशोक चौधरी प्रथम, रुपलाल चपाई दोस्रो र प्रमोद थारु बर्दिया तेस्रो भए । दुवै विधाका विजेताले क्रमशः दश हजार, सात हजार र तीन हजार रुपैया प्राप्त गरे ।


रन फर फनमा पुरुषका लागि २५ किलोमिटर र महिलाका लागि १५ किलोमिटर साइकल दौड प्रतियोगिता गराइएको थियो । २५ किलोमिटरमा सुरज राना प्रथम, बाबुराम विश्वकर्मा दोस्रो, जितु चौहान तेस्रो र जंगु थारु चौथो भए । उनीहरुले क्रमशः २५ हजार, २० हजार, १५ हजार र दश हजार रुपैया पाए । महिलाको १५ किलोमिटरमा इन्द्राकुमारी तामाङ प्रथम, विदिसा चौधरी दोस्रो र पार्वती सार्की तेस्रो भइन् । उनीहरुले दश हजार, सात हजार र पाँच हजार प्राप्त गरे ।
नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाको आयोजनामा कार्यक्रम भएको थियो । प्रतियोगिताका विजेतालाई बाहिनीपति हरेन्द्र पाठकले पुरस्कृत गरे ।
सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउन, निकुन्जको सम्वद्र्धन तथा विकासमा टेवा पु¥याउन, मनोरञ्जनसहित शारीरिक तन्दुरुस्तीका लागि प्रतियोगिता आयोजना गरिएको बाहिनीपति पाठकले बताए ।


error: यो सुविधा उपलब्ध छैन !