२७ गतेदेखि व्यापारीको फुटबल, पुरस्कार एक लाख
नेपालगञ्ज – जुमा स्पोर्टस क्लवले फाल्गुन २७ गतेदेखि दोस्रो जुमा कप बस्तुगत र पेशागत फुटबल प्रतियोगिता गर्ने भएको छ ।
जुमाका अध्यक्ष भीम रानाभाटका अनुसार, प्रतियोगितामा १२ वटा टीमको सहभागीता रहने छ । प्रतियोगिताका विजेतालाई एक लाख एक हजार पाँच सय रुपैया पुरस्कार राखिएको छ । दोस्रो हुने टीमले ५१ हजार पाँच सय रुपैया पाउने छन् । विद्यागत पुरस्कार ५ हजार पाँच सय रुपैया राखिएको छ । विद्यागतमा धेरै गोल गर्ने, उत्कृष्ट किपर, उत्कृष्ट खेलाडी र अनुशासित टीमले उक्त पुरस्कार पाउने छन् ।
प्रतियोगितामा १२ टीमका १ सय ९२ जना खेलाडी सहभागी हुँदै छन् । सबै खेलाडीको खेल अवधिका लागि ५ लाखको दुर्घटना बिमा गरिएको छ । प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव रमेश सिलवालले गर्ने तय भएको छ ।
प्रतियोगिताको उद्घाटन अघि जनप्रतिनिधिको नेतृत्व गर्दै नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा र राष्ट्रसेवक कर्मचारीको नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मैत्रीपूर्ण म्याच खेल्ने भएका छन् । प्रतियोगिताको समापनको दिन पत्रकार र आयोजकका बीचमा मैत्रीपूर्ण म्याच हुने अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।
व्यापारीलाई फुटबलसँग जोड्ने काम गरिरहेको जुमाले यो प्रतियोगिताका लागि १५ लाख खर्च अनुमान गरेको छ ।