बाघको आक्रमणबाट थारुको मृत्यु
नेपालगञ्ज – बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) विष्णुप्रसाद श्रेष्ठका अनुसार, गेरुवा गाउँपालिका वडा नं. ६, नौरंगापुरमा भैसी चराउन गएका राजापुर नगरपालिका वडा नं. १० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
बाघले आक्रमण गरेर लगेका थारुको शव केही पर भेटिएको छ । ‘बाघले आक्रमण गरेर एकजनालाई लगेको खबर आएपछि हाम्रो टोली हात्तीको सहयोगमा घटनास्थलमा पुगेको थियो, वार्डेन श्रेष्ठले भन्नुभयो, बाघले शुरुमा आक्रमण गरेको भनिएको ठाउँबाट करिव तीन सय मिटर पर थारुको शव भेटिएको छ । शव क्षतविक्षत रहेको छ ।’
बर्दियामा यसअघि पुसमा मोटरसाइकलमा रहेकी महिलालाई बाघले तानेर खाएको थियो ।