योगिनीमा चार कोठे भवन शिलान्यास

नेपालगञ्ज – योगिनी मावि, खजुरा–२, गौघाटमा चार कोठे भवनको शिलान्यास गरिएको छ ।
खजुरा गाउँपालिकाको सहयोगमा बन्न थालेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले शिलान्यास गर्नुभयो । अध्यक्ष कक्षपतिले शिक्षा, स्वास्थ्य, कृषिमा गाउँपालिकाले प्राथमिकताका साथ लगानी गरिरहेको बताउनुभयो ।
२०२७ सालमा स्थापना भएको योगिनी पुरानोमध्येको स्कूल हो । अहिले त्यहाँ रहेका भवनहरु टीनका छाना छन् । अहिले बन्न थालेको चार कोठे भवनका लागि ६१ लाख रुपैया छुट्याइएको छ । ५ सय ६० जना विद्यार्थी रहेको स्कूलमा गाउँपालिकाले गतवर्ष १६ लाख रुपैयामा दुई कोठे भवन बनाइदिएको थियो ।
चार कोठे भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष देवीलाल खनाल, प्रधानाध्यापक गगन खड्का, व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर पुन, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम वलीलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !