इन्दुको अव्यक्त प्रेम
क्रमशः
प्लस टू पढ्दा मेरो मिल्ने साथी थिए, राजु गुप्ता । उसँग खेल्न जाने भएकाले हाम्रो आउजाउ भइरहन्थ्यो । उसको घर जाँदा इन्दुले हेरिरहन्थिन् । उनी राजुकी काकाकी छोरी थिइन् । हेराहेर हुन्थ्यो, कुराकानी भने हुन्थेन ।
जवानी चढ्ने उमेर थियो । त्यसैले इन्दुसँग आँखा जुधिरहन्थ्यो । त्यो हेराहेरीमै आकर्षण बढेको महसुस हुँदै थियो । त्यो हेराइ सामान्य जिज्ञासा मात्र थियो वा प्रेमको मुना, मैले अहिलेसम्म छुट्याउन सकेको छैन । इन्दु जहिले पनि बिहान दूध लिन पचहत्तर पल्लीको मदर डेरी जान्थिन् । त्यहाँ पुग्न हाम्रो बस्ती हुँदै जानु पथ्र्यो ।
मेरो घर हुँदै सधैँ हिँडे पनि हाम्रो बोलचाल हुन्थेन । उनले बोल्न चाहेकी रहिछन् । एक दिन जम्काभेटमा भनिहालिन्, ‘तपाईं किन बोल्नु हुन्न ?’
म अचम्म परेँ । अब पो झन् के बोलौँ भनेझैँ भयो । झट्ट भनिहालेँ, ‘के बोलौँ ?’ ‘थाहा छैन ?’ जिस्क्याउने शैलीमा उनी बोलिन्, ‘खालि हेरी मात्र राख्नुहुन्छ ।’ मैले पनि भनिदिएँ, ‘तिमी पनि त हेरिरहन्छ्यौ । हेर्नुमा के खराबी छ र ?’
त्यो दिन यस्तै कुरा गर्दै हामी सँगै मदर डेरीसम्म पुग्याँै । त्यस दिनदेखि हामीले एकअर्कादेखि नजिक महसुस ग¥यौँ । यस्तो लाग्थ्यो, कहिले बिहान होला र गफ गर्दै हिँड्न पाइएला । पछिपछि त म बिहान इन्दुसँग गफ गर्दै डेरीतिर जाने र उतैबाट म खेल अभ्यास गर्न निस्किन थालेँ । टोलबाहिर हाम्रो कहिल्यै भेट भएन । झन्डै दुई वर्षसम्म उनले उसैगरी डेरीबाट दूध बोकिन्, मैले उसैगरी उनलाई साथ दिएँ ।
तर, दुवैले बुझिनेगरी प्रेम प्रकट गरेनौँ । सन् १९९१ मा इन्दुको बिहे भएपछि पो मलाई महसुस भयो, त्यो माया नै थियो । बिहेको ६ महिनापछि इन्दु माइती आइन् । एक साँझ अभ्यास गरेर फर्किंदै थिए, बाटोमा भेट भयो । सायद उनी मेरै बाटो कुरेर बसेकी थिइन् ।
म टाउको तल गरेर अघि बढ्न खोजेँ । इन्दुले बोलाइन्, ‘गोपाल रोक्नूस् न । यति पछि भेट्दा पनि नबोली हिँड्ने ?’ मैले भनेँ, ‘तिम्रो बिहे भइसक्यो । बोल्दा अप्ठ्यारो पर्ला भनेर नि !’ हामीबीच प्रेम छ भनेर उनको घरपरिवारले शङ्का गरेको रहेछ । त्यसैले हतारहतार उनको बिहे गरिएको रहेछ । मैले उनलाई खुलेरै सोध्न चाहेको थिएँ । तर, उनले भोलि बिहान दूध लिन आउँदा भेटौँला भनिन् ।
धेरैपछि इन्दुलाई भेट्दा मेरो मनमा उकुसमुकुस भइरहेको थियो । अर्को दिन बिहान म घरअघि बाटोमा क्रिकेट बललाई खेलाइरहेको थिएँ । इन्दु आइन् र सरासर अघि बढिन् । मैले सङ्केत बुझिहालेँ र पछि लागेँ ।
अलि पर पुगेर मैले गुनासो बिसाएँ, ‘तिमीले बिहे गर्दै थियौ त मलाई एकपटक पनि भनिनौ ।’ उनको जवाफ थियो, मेरो बिहेको कुरा मलाई नै थाहा थिएन । घरपरिवारले एकाएक गरिदिए । बिहे हुने नै भइसकेपछि तपाईंको मन किन दुखाउने भन्ने लाग्यो । जब उनले ‘मन दुखाउने’ शब्द निकालिन् मेरो मन बल्ल दुख्यो । ती शब्दले चसक्क मुटु घोचेझैँ लाग्यो । इन्दुले भित्रभित्रै माया गरेकी रहिछन् भन्ने बुझ्न गाह्रो भएन । तर, त्यो अव्यक्त प्रेमको पीडा उनको बिहे भएको ६ महिनापछि भइरहेको थियो ।
बिहेअघि उनलाई मामाघर लगिएछ । आमाबुबा सधैँ गोपालसँग तेरो चालामाला ठीक छैन है भन्दा रहेछन् । शङ्कैशङ्कामा ठीकठीकैको केटा खोजेर बिहे गरिदिएछन् ।
बिहेपछि पनि उनी मसँग नजिकिन खोज्थिन् । तर, मैले बिहेअघि त शङ्का गरे, अब झन् अप्ठ्यारो पर्ला भनेर सम्झाउँथेँ । उनी भने म अभ्यास गरेर फर्किने बाटो कुरेर बसिरहन्थिन् । पछिपछि त मलाई पो अप्ठ्यारो लाग्न थाल्यो । बिहे भइसकेको केटीसँग दिनहुँ भेटघाट र कुराकानी गर्दा अरूले गलत अर्थले हेर्न सक्थे । त्यसैले हिँड्ने बाटो नै परिवर्तन गरेँ ।
दीपालाई खोज्न सिक्किम
ब्रेथबेथ कम्पनीमा काम गर्ने एक जना प्रधान मामा थिए । उनलाई आमाले धर्मभाइ बनाउनु भएको थियो । मामाले एक दिन आमासँग भने, ‘गोपालले ट्युसन पढाउँदा रहेछन् । मेरो साथी रामबहादुरका छोरीहरूलाई पनि पढाउन भनिदिनूस् न ।’ उनीहरू झन्झिरियामा रहेछन् । पैसा पाइन्छ भने ठीकै छ भन्ने लाग्यो । मैले हप्तामा तीन दिन पढाउँछु भनेँ । अभ्यास गरेर फर्किंदा पढाउने कुरा भयो ।
इसप्लानेड झिन्झिरियाका लागि गाडी सहजै पाइन्थ्यो । मामाले लगेर मेरो परिचय गराइदिए । साथीका तीन छोरी रहेछन्, दीपा, अनिता र गीता ।
दीपा स्नातक पढ्थिन् । अनिता १० र गीता ८ मा पढ्थे । मैले अनिता र गीतालाई ट्युसन पढाउन थालेँ । स्नातक सिध्याइसकेको थिएँ । मेट्रो रेलवे टिमबाट पारिश्रमिक पाउँथेँ । खल्ती खर्च चलाउन ट्युसन पढाउँथेँ । मैले अनिता र गीतालाई पढाइरहँदा दीपाले चिया ल्याउँथिन् । बिस्तारै घुलमिल बढ्यो । खुलेर कुराकानी पनि हुन थाल्यो । दीपा मसँगै बढ्तै नजिकिन खोजेको महसुस हुन थाल्यो । उनको व्यवहारबाट म पनि मोहित हुँदै गएँ । तीन–चार महिनापछि हप्तामा पाँच दिन पढाउन जान थालेँ । बहिनीहरू पढ्थे । म दिदीसँग घनिष्ट हुँदै गएँ । ट्युसन समय सकिएपछि पनि म धेरैबेर भुल्न थालेँ । कहिलेकाहीँ त खाना खाएरै घर फर्किन्थेँ ।
सात–आठ महिनापछि आठ र दस कक्षाको परीक्षा पनि भयो । अब दीपासँग भेट्न ट्युसनको बाहना हरायो । त्यसैले हामीले सुटुक्क बाहिरफेर भेट्न थाल्यौँ । एक हिसाबले भन्ने हो भने हाम्रो प्रेम मौलाउँदै थियो । त्यही बेला म दिल्लीमा प्रतियोगिता खेल्न हिँडेँ । २५ दिनपछि फर्किएर झिन्झिरिया जाँदा त कोही पनि थिएनन् । दीपाको परिवार कहाँ गयो ? कसलाई सोधाँै, अक्क न बक्क भएर फर्किएँ ।
दीपाका बुबा फिलिप्स कम्पनीमा काम गर्थे । प्रधान मामासँग राम्रो दोस्ती थियो । उनैले मलाई परिचय गराएका थिए । पक्कै प्रधान मामालाई थाहा होला भन्ने लाग्यो ।
‘मामा उनीहरू कहाँ गए ?’ मैले भेटेर सोधेँ । मामाले आफूलाई त्यसबारेमा केही थाहा नभएको र केही महिनादेखि आफू त्यहाँ नगएको बताए । मलाई भने केही लुकाएझैँ लाग्यो । सात दिनपछि प्रधान मामा हाम्रो घरमा आएका थिए ।
फेरि मैले सोधेँ, ‘भन्नूस् न मामा, दीपाहरू कहाँ गए ?’ धेरै कर गरे पनि मामा केही बोलेनन् ।
अर्को दिन क्वाटरमै पुगेर सोध्दा उनी थोरै अलमलिए । थाहा पाएर पनि उनले लुकाइरहेका छन् भन्ने टुङ्गोमा पुगेर मैले सोधेँ, ‘प्लिज मामा भन्नु न उनीहरू कहाँ गए ?’
मामाले त्यो सबै रहस्यको कारण दीपा र मेरो हिमचिम भएको बताए । हाम्रो उठबसबारे उनले आमालाई भनेछन् । आमा रिसले आगो हुनुभएछ । मामाले आमालाई दीपाको घर लगेछन् । त्यहाँ आमाले भन्नु नभन्नु भन्नुभएछ । फर्किने बेलामा धम्क्याउनु भएछ, ‘मेरो छोरा दिल्ली गएको छ । ऊ फर्किंदा छोरीको अन्तै बिहे गरिदिने हो कि कतै लैजाने हो लैजानूस् ।’ यो घटनाले दीपाको परिवारलाई असैह्य भएछ । त्यसपछि सिक्किमकै घरमा फर्केका रहेछन् ।
उफ ! यो के गर्नुभो आमा ! मलाई नमज्जा लाग्यो । मैले हत्तपत्त मामालाई सोधेँ, ‘सिक्किम कहाँ हो तिनीहरूको घर ?’ मामाले सिक्किम देउरालीको ठेगाना बताए । जाने बाटो सिकाए ।
मनभरी छटपटी बोकेर म घर फर्किएँ । आमाले त्यस्तो भन्दा दीपाले के भनिन् होला ? मेरो जिज्ञासा लागेर सोधेको थिएँ । उनी रोइन् मात्र, केही बोल्न सकिनन् रे ! त्यो सबै सुनेपछि म रातभर निदाउन सकिनँ । आमासँग पनि रिसाएर भनेँ, ‘त्यस्तो नभन्नुपर्ने !’
म हतास र निराश भएँ । चार–पाँच दिन न भोक लाग्यो न त प्यास । दीपासँग छुट्टिनु परेकोभन्दा पनि उनको मन दुखाएकामा म दुःखी थिएँ । मलाई केही गर्ने जाँगर थिएन । धन्न क्रिकेटको अफसिजन भएकाले अभ्यास गर्नु पर्दैनथ्यो ।
धेरै सोचविचार गरेपछि म सिक्किम जाने निर्णयमा पुगेँ । घरमा भाउजूलाई मात्र खबर गरेर म काँकडभिट्टा, सिलिगुढी हुँदै सिक्किम पुगेँ । सन् १९९२ को दुर्गापूजाअघि सिक्किम सदरमुकाम गान्तोक पुगेर होटलमा बसेँ । त्यो बेलाको गान्तोक निकै सफा र सुन्दर थियो । तर, मनको बेचैनीले त्यहाँको सुन्दरता पनि धमिलो लागिरहेको थियो । देउराली जान गान्तोकभन्दा करिब २५ किलोमिटरअघि नै ओर्लिनुपर्दो रहेछ । फेरि फर्किएर आएँ । अब घर कसरी पत्ता लगाउने ? सोध्दै खोज्दै हिँड्नुको विकल्प थिएन । खोज्दै जाँदा गाउँमा मैले टायलले छाएको दीपाको घर भेटेँ ।
घरमा दीपाकी आमा थिइन् । उहाँ मलाई त्यहाँ देखेर हक्कबक्क पर्नुभयो । उनलाई मैले सोधेँ, ‘अन्टी किन यसरी हिँड्नु भयो त ? एकपटक मलाई भेटेर आउनु भएको भए पनि हुन्थ्यो ।’ उनले मेरी आमाले लगाएका दुर्बचन सुनाइन् ।
त्यही पीडाले आफ्नै ठाउँ फर्केको बताइन् । अन्त्यमा जे नहोस् भन्ने चाहेको थिएँ, त्यही भनिदिइन्, ‘अब दीपाको बिहे हुँदैछ । तपाईं जानूस् बाबु !’ दीपा मामाघर सिलिगुढी गएकी रहिछन् । पाँच–सात दिन नआउने अन्टीले बताएपछि मैले सिलिगुढी भएरै भेट्छु भनेर ठेगाना मागेँ । अन्टीले मामाघरमा छैनन् कि भनेर टार्न खोजिन् । मलाई दीपा सिक्किममै भएर पनि उनले ढाँटेझैँ लागेको थियो । प्रधान मामाले फोन गरेर म आउँदैछ भन्ने खबर गरेकाले दीपालाई लुकाइएको थियो । दीपालाई भेटेर धेरै कुरा गर्ने मन थियो । सबैभन्दा बढी आमाले दुखाएको मनमा माफी मागेर मल्हम लगाउने इच्छा थियो ।
तर, भेट्न सकिनँ । अन्टीले चिया खुवाइन् । म कालो चियामा चित्त बुझाएर दुःखी, निराश र पीडा भरिएको मन लिएर फर्किएँ ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)