मृतक वडाध्यक्षप्रति श्रद्धाञ्जली

नेपालगञ्ज – उपचारकोक्रममा राजधानीको मेडिसिटी अस्पतालमा निधन हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिष्णुबहादुर लामाको शुक्रबार अन्तिम बिदाई गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा कार्यालयमा श्रद्धाञ्जलीसभा सहित स्व. लामाको अन्तिम बिदाई गरिएको हो ।
श्रद्धाञ्जलीसभामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले लामाको निधनबाट नेपालगञ्जले लोकप्रिय र अनुभवी जनप्रतिनिधि गुमाएको बताउनुभयो ।
उपप्रमुख उमा थापा मगरले स्व. लामा नेपालगञ्जको विकास र समृद्धिको पक्षमा सदैब क्रियाशील रहँदै आएको बताउनुभयो । लामाको उपचारमा उपमहानगरपालिका, जनप्रतिनिधि र कर्मचारीका तर्फबाट सक्दो सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
नेकपा बाँकेका सचिव अशोक कोइरालाले स्व. लामाको नेतृत्वमा वडामा निर्माणाधीन विकास निर्माण लगायतका अन्य कामहरु पूर्णता नै लामाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
वडा सदस्य रमेश तिमिल्सेनाले लामाको अभिभावकत्वमा आफुहरु वडाबासीको काममा खटिर्दै आएको भन्दै वडाबासीले असल अभिभावक गुमाएको बताउनुभयो ।
नगर प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी लगायतले स्व. लामाको शवमा माल्र्यापण सहित अन्तिम बिदाई गर्नुभयो ।
लामाको निधनप्रति शोक मनाउँदै शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका तथा वडा कार्यालयमा अत्यावश्यक बाहेकका कामकाज बन्द भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !