भरुवा बन्दुकसहित नौ जना पक्राउ
नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले नौ जना चोर शिकारीलाई पक्राउ गरेको छ ।
निकुञ्जको क्यामेरामा बन्दुक बोकेर आउने र जाने गरेको फोटो देखिएपछि निकुञ्ज प्रशासनले सल्यान कालिमाटी गाउँपालिका वडा नं. २ र ३ नम्बर वडाबाट नौ जनालाई सात थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार, नौ जना व्यक्तिको साथबाट सात वटा भरुवा बन्दुक बरामद भएको छ । पक्राउ पर्नेमा भीमबहादुर खनाल, देवप्रसाद थापा, धनबहादुर डाँगी, तिलक डाँगी, टेकबहादुर कुँवर, कृष्ण थापा, शोकबहादुर खत्री, कुमार थापा र रत्नलाल मगर रहेका छन् ।
२०६७ सालदेखि निकुञ्जहरुमा सञ्चालनमा रहेको अप्रेसन महाहन्ट अन्तर्गत खैरीगोठ अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । निकुञ्ज प्रशासनले शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको थियो ।