प्रविणको हत्यामा दिनेशले किन मुख खोलेनन् ?

नेपालगञ्ज – राष्ट्रिय अनुसन्धान विभाग, नेपालगञ्जमा कार्यरत सहायक सूचक प्रविण थापामगरलाई साथीको हेल्मेटको विवादमा हत्या गरेको खुलासा भएको छ ।
बाँकेका एसपी ओमबहादुर रानाका अनुसार, लागु औषधीको कारोबार भइरहेको सूचना पाएपछि सहायक सूचक थापा र उनका साथी कर्की भन्ने दिनेशकुमार कर्मी घटनास्थलमा पुगेका थिए । निश्चल गुरुङ, तेजबहादुर वीएम, विवेक परियार, सुमित विक, सुशान्त भण्डारी र सुवास थापाले गाँजा सेवन गरेर बसेका थिए । गाँजा सेवन गरिसकेपछि विवेकले दिनेशको हेल्मेट लिएपछि विवाद भएको थियो । सहायक सूचक थापा र दिनेशले हेल्मेट माग्दा ६ जनाले चिर्पट दाउराले हानेर थापाको हत्या गरेको एसपी रानाले बताउनुभयो । घटनापछि अभियुक्तहरु फरार भएका थिए । सहायक सूचक थापासँग गएका दिनेशले कुटपिट हुँदा प्रतिकार गरेनन् भने कसैलाई पनि सो बारेमा जानकारी दिएका थिएनन् ।
प्रहरीले हत्यामा प्रयोग गरिएको चिर्पट, दिनेशको चप्पल, मृतक थापाको दुई वटा मोबाइल, दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ । हत्यामा संलग्न चार जना १८ वर्ष मुनिका छन् । बाँके प्रहरीले बुधबार दिनेशसहित सात जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !