अनलाइनमा अघि बढ्दै डुडुवा

नेपालगञ्ज – मानवअधिकार कार्यान्वयन अनुगमनका लागि बाँकेको डुडुवा गाउँपालिकामा मानवअधिकारसँग जोडिएका विभिन्न विषय अन्तर्गतका सूचनाहरुलाई अनलाइन प्रणालीमा व्यवस्थापन गरिने भएको छ ।
मानवअधिकार अन्तर्गत संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, महिला, बालबालिका, सामाजिक सुरक्षा, अपराध पीडित, जातीय छुवाछुतलगायतका विभिन्न मौलिक अधिकारको कार्यान्वयनसम्बन्धी तथ्यांकहरु समेटिने गरि अनलाइन सूचना व्यवस्थापन प्रणाली विकास गर्न लागिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अधिकार अनुसन्धान केन्द्र, नेपालगञ्जको संयोजनमा आज मानवअधिकार सूचना व्यवस्थापन प्रणालीका बारेमा अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा स्थानीय तहका विभिन्न सूचना विवरणलाई अद्यावधिक गरि उक्त प्रणालीमा राखिने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार, यो प्रणालीले गाउँपालिकाका प्रत्येक सूचना विवरण खोज्न, प्रयोग गर्न र पालिकाको योजना निर्माण लगायतमा सहयोग पुग्ने छ ।
अभिमुखीकरणलाई एफ एचआईका मानवअधिकार सल्लाहकार सन्तोष सिग्देल र युथ इन्नोभेसन ल्याबका कम्प्युटर इन्जिनियर विप्लव अधिकारीले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणको समापनमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, निमित्त प्रमुख प्रशासकिय अधिकृत सञ्जय कर्ण, संस्थाका अध्यक्ष विश्वजित तिवारी लगायतले बोल्नुभएको थियो ।
अभिमुखीकरणमा डुडुवा गाउँपालिकाका जनप्रतिनिधि र विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण पश्चात पालिकाका विभिन्न शाखाले तथ्याक संकलन गरि प्रणालीमा व्यवस्थापन गरिनेछ ।


error: यो सुविधा उपलब्ध छैन !