इजराइलको यात्रा, मुम्बईमा अलपत्र
नेपालगञ्ज – अलिकति कमजोर हुँदा वा व्यवहार बिग्रिएका बेला चारैतिरबाट प्रहार हुँदो रहेछ । श्रीमान अर्की लिएर हिडेपछि अलिकति कमजोर भएकी जाजरकोटकी ४० वर्षीया महिलालाई दलालले इजराइल पठाइदिने प्रलोभनमा पारेर जीवनभरी बिर्सिन नसक्ने प्रहार गरेका छन् ।
पहिलो पटक मलेसिया जादा श्रीमानको साथ सहयोग थियो । तीन वर्ष मलेसिया बस्दा मासिक ३०÷३५ हजार कमाइ भएको थियो । पैसा श्रीमानलाई पठाइरहिन् । फर्किएर घरमा आइपुग्दा श्रीमानले अलग व्यवहार देखाए । त्यतिमा सीमित रहेन, श्रीमान अर्की लिएर हिडे ।
विदेशबाट फर्किएर आउदा न त श्रीमान साथमा रहे, न त आफूले कमाएको पैसा साथमा थियो । दुवै गुमेजस्तै भयो । साथमा थिए त तीन छोराछोरी । छोराछोरीको पालनपोषणका लागि अझ बलियो गरी काँध थाप्नु पर्ने भयो ।
एकपटक बाँकेको कोहलपुरमा आउदा चिनेका व्यक्ति भेट भए । उनी होटलमा कुक गर्थे । ती व्यक्तिसँग महिलाले फेरि विदेश जाने कुरा गरिन् । उनले विदेश पठाउने व्यक्ति दाङमा आफूले चिनेको र भेट गराइदिने आश्वासन दिए ।
केही समयपछि दाङका दलालसँग महिलाको भेट भयो । कोहलपुरको चौराहामा भएको भेटमा दलालले सात लाख रुपैया दिए इजराइल पठाइदिने बताए । उनले महिलालाई राम्रो काम र दाम पाइने प्रलोभनमा पारे ।
महिलाले सात लाख रुपैया जम्मा गर्न आफन्तीहरु गुहारिन् । माइतीका आफन्तहरुसँग जुटाएर दलाललाई सात लाख रुपैया दिइन् । सात लाख रुपैया पाएपछि दलाल हरायो, दुई वर्षसम्म । सम्पर्क गराइदिने व्यक्तिमार्फत फेरि दलाल भेटियो । गत असोज १४ गते कोहलपुरमा चौराहामा दलालसँग भेट भयो । दलालले उनीसहित तीन महिलालाई लिएर भारत हिडे । सबैजना दिल्ली पुगे । एक हप्ता दिल्लीमा बसे । दलालले एक जनालाई साउन र अर्कीलाई कुवेत उडाए । उनलाई भने इजराइल जान प्रक्रिया लामो लाग्ने भन्दै त्यही बसाए । दिल्लीबाट मुम्बई लिएर गए ।
मुम्बईको एक होटलमा पुगे । केहीबेरमा आउने भन्दै दलाल होटलमा महिलालाई राखेर बाहिर निस्कियो । ऊ फर्केर आएन, फरार भयो । महिला होटलमा अलपत्र परिन् । होटल सञ्चालकलगायतले एक महिनासम्म बलात्कार गरे ।
एक दिन बच्चालाई गेटमा लिन जादा उनी लुकिन् । फूलका झ्याङको बीचमा रातभरी बसिन् । भोलीपल्ट आफ्ना कपडाहरु च्यातेर, कपाल झिङरिङ्ग पारेर बाहिर निस्किइन् । देख्नेले उनलाई पागल भनेर छोडिदिउन् भन्ने उनको विचार थियो ।
गाउँका दाइभाइजु पर्ने मुम्बईमा काम गर्छन् भन्ने उनलाई थाहा थियो । तर, उनीहरुको फोन नम्बर थिएन । नेपालमा बहिनीलाई फोन गरिन् । बहिनीले गाउँका दाइभाइजुलाई दिदीबारेको खबर गरिदिइन् । दाइभाउजुसँग उनको भेट भयो । उनीहरुले महिलालाई नेपाल लिएर आए ।
महिला दलाललाई खोज्न लागिन् । पैसा खाएरमात्रै होइन, मुम्बईको होटलमा अलपत्र पारेर भागेको दलाल कहाँ भेटिन्थ्यो र ? महिलालाई धेरै समयसम्म लागिरह्यो कि दलाल सात लाख रुपैया पचाउनका लागि भागेका छन् । सात लाख रुपैया दिएमा मुद्दामामला नगर्ने बताइरहिन् । होटलमा बेचिएको हो वा होइन पत्ता लागेन । त्यहाँबाट भागेर ज्यान बचाइन् । मानव बेचबिखनविरुद्धमा काम गर्ने केही व्यक्तिहरुले भेटेपछि महिलालाई बेचबिखनको मुद्दा दायर गर्न सुझाव दिए । त्यसपछि बल्ल महिलाले दलालविरुद्ध मानव बेचबिखनको मुद्दा दायर गरेकी छन् । (युगबोधबाट)