एकैदिन कोरोनाबाट तीन जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा एकै दिन कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँकेका एकजना र बाहिरी जिल्लाका दुई जनाको मृत्यु भएको हो ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते भेरी अस्पतालमा भर्ना भएका उनको गएराती १२.२५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ ।
विहान कोहलपुर मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरका ६० वर्षीय पुरुष र दाङका १३ वर्षीय बालकको मृत्यु भएको हो । महेन्द्रनगरका ६० वर्षीय पुरुषलाई पुस १७ गते अस्पताल ल्याइएको थियो । उनको आज विहान ७.२० बजे मृत्यु भयो । दाङ घोराहीका १३ वर्षीय बालकलाई पुस १९ गते अस्पताल ल्याइएको थियो । उनको विहान ७.४५ बजे मृत्यु भएको छ ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ७९ जनाको मृत्यु भइसकेको छ ।