४ सय ४४ फरार अभियुक्त पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले पहिलो चौमासिकमा चार सय ४४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
अदालतबाट सजाय तोकिएका फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्ने अभियान थालिएपछि राख्ने ठाउँकै अभाव भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले प्रदेशमै धेरै फरार अभियुक्तलाई पक्राउ गरिएपछि राख्ने ठाउँको अभाव भएको बताउनुभयो । ‘पहिलो चौमासिकमा प्रदेशमा ६ सय फरार अभियुक्त पक्राउ गरिदा बाँकेमा मात्रै ४ सय ४४ जना छन्, प्रजिअ कुरुम्बाङले भन्नुभयो, उनीहरुलाई राख्ने ठाउँ अभाव हुँदा मुश्किलले व्यवस्थापन गरिएको छ ।’
नेपालगञ्ज कारागारमा रहेका महिला बन्दीलाई बर्दिया सरुवा गरेर त्यो ठाउँमा पक्राउ परेका फरार अभियुक्तलाई राखिएको छ । तीन सय क्षमताको नेपालगञ्ज कारागारमा अहिले नौ सय हाराहारीमा बन्दी रहेका छन् । नेपालगञ्जमा शुक्रबार भएको सुरक्षा गोष्ठीमा यसबारेमा चर्चा भएको थियो ।