रेलवेमा जागिर अफर

रेलवेको सुभाष इन्स्टिच्युटले राम्रा खेलाडी अनुबन्ध गरेर प्रदर्शन र नतिजा राम्रो निकाल्न सफल भइरहेको थियो । दुईदिने लिग र नकआउट
म्याच जितिसकेको थियो । मद्रास (चेन्नाई)मा गएपछि मैले रेलवेका तर्फबाट अल इन्डिया रेलवे ट्रफी म्याच खेलँे । चेन्नाईको चेपक मैदानमा म्याच थियो ।
त्यो मैदानमा टेस्ट र वान डे म्याचहरू हुन्छन् । रेलवेको आफ्नै कोच हुन्छ । रेलमा बोगिटी अट्याच हुन्थ्यो, त्यहीँ खाने र त्यहीँ बस्ने । मैले  द्रासमा गएर एकदम राम्रो प्रदर्शन गरेँ । दुई विकेट लिएँ । अनिरुद्र शर्मा, राकेश शुक्ला रेलवे टिममा थिए । अल इन्डिया रेलवे प्रतियोगिताबाट नै रेलवेको टिम छनोट हुन्थ्यो । इस्टर्न रेलवे, नर्थ इस्टर्न रेलवे, दक्षिण रेलवे, पश्चिम रेलवे, उत्तर रेलवे र मेट्रो रेलवे । हामी मेट्रो रेलवेका खेलाडी । यो सबैभन्दा कान्छो रेलवे टिम थियो । टिममा सबै खेलाडी थिएनन् । पाँच–सात जना व्यावसायिक खेलाडी थिए भने बाँकी कर्मचारी । हामीले हैदरावादमा खेल्यौँ । म्याच नजिते पनि हाम्रो प्रदर्शनबाट रेलवे पदाधिकारी खुसी थिए ।
सन् १९९२÷९३ को सिजनमा राम्रो गरेपछि मलाई मेट्रो रेलवेको जागिरको प्रस्ताव आयो । अनिलकुमारले जागिरको अफर गरेका थिए । तर, मेरो परिस्थिति भने बेग्लै थियो । त्यति बेलासम्ममा मैले बीएसस्सी सिध्याइसकेको थिएँ । खेलका कारण एमएस्सी भर्ना हुन सकिरहेको थिइनँ । त्यतिबेला आमा र दाइहरू नेपाल फर्किसकेका थिए । कोहलपुरमा बसाइ सुरु भइसकेको थियो । यो २०४६ सालको कुरा थियो ।
म माइला दाइसँग कोलकातामा बस्थेँ । आमा र ठूल्दाइले मलाई नेपालमै फर्किन भन्नुभयो । कान्छो छोरा भएकाले हो कि आमाले अति नै माया गर्नुहुन्थ्यो । कोहलपुरमै बसोस्, यतै केही गरोस् भन्ने सोच्नुहुन्थ्यो । त्यसैले रेलवेमा जागिर खाने कि कोहलपुर फर्किने भन्नेमा म दोधारमा परँे ।
यतिबेला नेताजी सुभाष इन्स्टिच्युट फस्ट डिभिजनमा उक्लिसकेको थियो । कोहलपुरमा आउजाउ भइरहेकै थियो । दिदीलाई विवाह गरेर दिएको घर विराटनगरमा थियो । कोलकाताबाट जोगबनी हुँदै विराटनगर जान र कोहलपुर आउनु मेरा लागि सामान्य भइसकेको थियो । म कोहलपुर आएर फर्किएपछि एके गाङ्गुलीलाई भेटँे । सबै पारिवारिक कुरा बताएँ । परिस्थितिवश रेलवे टिम छोडेर नेपाल फर्किन लागेको सुनाएँ । उनले हतारमा निर्णय नलिन मलाई सल्लाह दिए । आत्मीय ढङ्गले भने, ‘बरू नेपाल गएर एक महिना बसेर आऊ ।’
तर, म आमाको कुरा काट्न सक्ने स्थितिमा थिइनँ । अन्ततः मैले राजीनामा दिएँ । २०५० सालमा म पूर्णरूपमै स्वदेश फर्किएँ ।

म्यानेजरकी श्रीमतीलाई हिस्टेरिया
मेट्रो रेलवे टिममा वासुदेव मुखर्जी टिम म्यानेजर थिए । उनी मेट्रो रेलवेको सिनियर सेक्सन अफिसर थिए । उनकै कमान्डमा सन् १९९२ मा मेट्रो रेलवेको टिम चेन्नाईमा खेल्न गएको थियो । उनलाई सबैले बडा बाबु भन्थे ।
म्यानेजर मुखर्जीले श्रीमतीलाई साथमा लिएर गएका थिए । आयोजक दक्षिण रेलवेले हामीलाई बस्ने व्यवस्था गरेको थियो । म्याच सकिएको अन्तिम दिन हामी छतमा बसेर मदिरा पिइरहेका थियौँ । मैले त्यहाँ पहिलोपटक कक्टेल चाखेँ । जिनमा ब्ल्याक नाइट बियर मिसाइएको रहेछ । हामीले मजाले खाइरहेका थियौँ । यस्तो कक्टेल खतरनाक हुँदो रहेछ, झनन्न लागेजस्तो भयो ।
त्यसै बेला तल कोठामा म्यानेजर मुखर्जी दाकी श्रीमतीलाई मानसिक अट्याक भयो । उनी लुगा फाल्ने गर्न थालिन् । उनलाई पहिला पनि त्यस्ता हुँदो रहेछ । हिस्टेरिया थियो, त्यो । हामीले कोठामा गएर लुगा लगाइदियाँै । ढोका लगायौँ ।
मुखर्जी दाले एकछिनमा ठीक हुन्छ भन्दै थिए । हामीले त्यो देख्न सकेनौँ । मुखर्जी अलि पाका थिए । उनकी श्रीमती १३–१४ वर्ष कान्छी थिइन् ।
सेक्सुअल असन्तुष्टिले यस्तो हुने मैले सुनेको थिएँ । मलाई अति नै माया गर्ने भएकाले एक दिन मैले मुखर्जी दालाई यही कुरा सोधेँ । उनले अलिकति ग्लानि महसुस गरे ।
अहिले मात्र बङ्गालमा छिटो विवाह गर्छन् । त्यतिबेला केटाहरूले ३०–३२ वर्ष नभई बिहे गर्दैनथे । आफ्नो खुट्टामा उभिएपछि बिहे गर्ने चलनले ढिलो बिहेको चलन बसेको थियो । मुखर्जीले समय बित्दै जाँदा श्रीमतीको हिस्टेरिया ठीक हुने आशा गरेका थिए । मैले भीडभाडमा नलैजान, टेन्सनका कुराहरू नगर्न, राम्रो साइक्रियाटिस्टलाई देखाउन सम्झाएँ । पारिवारिक समस्यामा रहेका मुखर्जीलाई त्यही दुई वचन पनि राहत भएछ । त्यसको महसुस मैले खेल रिपोर्टमा गरेँ । मुखर्जी सरले रिपोर्टमा मेरो प्रशंसा गरेका थिए । त्यो घटनालाई मिलाउन र सबैलाई व्यवस्थापन गर्न सक्ने देखेर मुखर्जी दाले मलाई लिडरसिप लिन सक्ने व्यक्तिमा राखेका थिए ।

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !