‘कालापहाड’ जानेको भीड
नेपालगञ्ज – चाडबाड सकिएसँगै भारत जाने नेपालीको संख्या बढेको छ । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौं मानिसहरु यतिबेला भारत गइरहेका छन् ।
कोरोनाको कहर र चाडबाड मनाउन घर आएका नेपालीहरु यतिबेला नेपालगञ्ज नाका भएर धमाधम फिर्ता भइरहेका हुन् ।
सरकारले नाका खुल्ला नगरेपनि भारत जाने आधार कार्ड भएका नेपालीहरुको भीडले नेपालगञ्ज नाकामा रहेका प्रहरीलाई सम्हाल्न धौधौ भइरहेको छ ।
तिहार सकिएसँगै नेपालगञ्ज नाका भएर भारत फर्किनेको संख्या ह्वात्तै बढेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले जानकारी दिनुभयो । ‘भारत फर्किने नेपालीको संख्या बढेको छ । बिहीबार नै हजार आसपासमा भारत गएका छन्, इन्चार्ज गिरीले भन्नुभयो, इन्ट्री गरेर पठाउन हामीलाई भ्याइ नभ्याई भएको छ ।’
कर्णाली प्रदेशका रुकुम, रोल्पा, जाजरकोट, दैलेख, सल्यानका मानिसहरु यतिबेला रोजगारीका लागि भारत गइरहेका छन् । भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा जाने नेपालीको संख्या बढेको जमुनाहा प्रहरीका इन्चार्ज गिरीको भनाई छ ।
चैत्रमा कोरोना कहरसँगै नेपालीहरु धमाधम घर फर्किएका थिए । त्यसबेला नफर्किएकाहरु दशैंको मुखमा घर फर्किएका थिए । उनीहरु सबै यतिबेला पुनः रोजगारीका लागि भारत फर्किएका हुन् ।
लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु रोजगारीका लागि भारत जाने गर्दछन् । आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने गर्दछन् । मौसमी कामका लागि भारत जानेहरु खेती गर्ने र चाडबाड मनाउन घर फर्किने गर्दछन् । अरु बेला भारतमा काम गर्छन् ।
कोरोना कहरसँगै भारतमा रहेका धेरै नेपाली घर फर्किएपछि कालापहाड, प्रयाग, सिमलालगायतका ठाउँमा कामदारको अभाव भएपछि त्यहाँका मानिसहरु नेपाली कामदारलाई लिन रुपैडिहासम्म आएका थिए । सरकारले आधार कार्ड भएकालाई भारत जान दिने र नेपाली नागरिकता भएकालाई नेपाल आउन दिने नीति बनाएको छ । सरकारले अझै नाका खोलिसकेको छैन । तर, भारतमा काम गर्ने अधिकांश नेपालीसँग आधार कार्ड रहेकाले भारत फर्किन सहज भएको छ । नाकामा रहेको प्रहरीले आधार कार्ड हेर्ने र इन्ट्री गरेर भारत जान दिने गरेको छ ।