‘कन्डाई’ नामक फल खाएर दुईको मृत्यु !
नेपालगञ्ज – श्रीमतीसँगको सामान्य विवादमा कन्डाई नामक फल खाएका बाँके कोठारपुरका शोभाराम बढैको मृत्यु भएको छ ।
कन्डाई नामक विषादी फल खादा मृत्यु हुने थाहा पाएकाले शोभारामले श्रीमतीसँग विवाद हुँदा उक्त फल खाएको बुझिएको छ । २३ वर्षीय बढैले २७ गते उक्त फल खाएर गम्भीर विरामी भएका थिए । २८ गते विहान तीन बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
उक्त फल खाएर नेपालगञ्जको परसपुरका २३ वर्षीय शत्रुहन रैदासको पनि मृत्यु भएको छ । २७ गते चार बजेतिर नटनपुरुवामा रहेको ससुरालीमा श्रीमती लिन गएका शत्रुहनलाई ससुराली पक्षले कुटपिट गर्नुका साथै पानी घोलेर कन्डाई नामक फलको रस खुवाएको प्रहरीले बताएको छ । शत्रुहनको नेपालगञ्ज मेडिकल कलेजमा २८ गते विहान ३.१० बजे मृत्यु भएको थियो । प्रहरीले ससुरासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।