‘गर्जिएनन्’ सांसद राइ र मेयर राणा

नेपालगञ्ज – विषय भेरी अस्पतालको स्तर उन्नतिको थियो । केही दिनदेखि बजार तातिएको डेढ करोडको कुरा उठ्ने धेरैले आकलन गरेका थिए । भेरी अस्पतालको कुरा अनि सांसद मो. इस्तियाक राइ र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा एकै ठाउँमा हुने भएपछि चर्काचर्की पर्ने भयो भन्ने धेरैले सोचेका थिए । किनकी, डेढ करोड फ्रिज भएको विषयमा यी दुवै जनाले छुट्टाछट्टै पत्रकार सम्मेलन गरेर एकले अर्कालाई ‘आरोप’ लगाउने काम गरिसकेका थिए ।
विकास लागि नागरिक सरोकार समितिले आयोजना गरेको कार्यक्रममा सांसद राइ र मेयर राणा बडो शालिन रुपमा प्रस्तुत भए । छुट्टाछट्टै पत्रकार सम्मेलन गर्दा कसम खाने र गलत भएमा राजनीति नै छोड्छु भन्नेहरु नरमशैलीमा प्रस्तुत भए । घुमाउरो पारामा आफू ‘सही’ भएको भन्न भ्याए । आगामी दिनमा मिलेर जाने कुरा गरियो । छुट्याइएको पैसा खर्च हुने ग्यारेन्टी खोज्ने काम भयो ।
पूर्वमन्त्री एवं सांसद राइले भेरी अस्पतालका लागि रकम छुट्याउँदा कार्यान्वयन गर्ने प्रतिबद्धता आउनु पर्छ भन्नुभयो । सांसदले राइले मेयर राणालाई लक्षित गरेर भन्नुभयो, ‘हामी मिलौ । म प्रतिबद्ध छु । गल्ती भए कान समात्न तयार छु । मबाट कमी भएको भए सार्वजनिक रुपमा माफी माग्न तयार छु ।’ राइले डेढ करोड फ्रिजमा मेयर राणालाई कुनै सल्लाहकारले गलत सल्लाह दिएको टिप्पणी गर्नुभयो ।
मेयर राणाले आगामी दिनमा सरसल्लाह गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । मेयर राणाले भन्नुभयो, विगतमा पनि सबैसँग मिलेर अघि बढेका थियौ । आगामी दिनमा पनि माननीयहरुसँग हातेमालो गरेर अघि बढ्छौं ।’
पहिला बोलेका राणाले नरम बोलि दिएकाले हुन सक्छ पछि सांसद राइले पनि नरम बोल्नु भयो ।
समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद महेश्वर गहतराजले भेरी अस्पतालको स्तर उन्नतिका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेश सांसद मो. याकुव अन्सारी, सभासद् मोहम्मदी सिद्धिकी, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपाका सचिव अशोक कोइराला, जनता समाजवादीका कमरुद्दिन राइ, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, डा. श्यामसुन्दर यादव, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य धनीराम वलीलगायतले अस्पतालको विकासका सम्बन्धमा धारणा राख्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !