जिप्रकाका थुनुवालाई कोरोना
नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाँकेका थुनुवालाई कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले दोस्रो लटमा सार्वजनिक गरेको चार जना कोरोना संक्रमितमा थुनुवा परेका हुन् । लागु औषध मुद्दाका २४ वर्षीय थुनुवालाई कोरोना देखिएको छ । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले लागु औषधीका थुनुवालाई म्याद थप गर्न अदालत लैजानु अघि पीसीआर जाँच गर्दा कोरोना देखिएको बताउनुभयो ।
बाँके प्रहरीले नयाँ थुनुवालाई छुट्टै राख्ने र कोरोना जाँच गरेर नेगेटिभ आएपछि मात्रै संगोलमा मिसाउने गरेको छ । फरार अभियुक्तलाई धमाधम पक्राउ गरिरहेको बाँके प्रहरीले अभियुक्तलाई समातेर ल्याइसकेपछि अदालत बुझाउने र अनुसन्धान गर्नुपर्ने भएकालाई छुट्टै राख्ने गरेको छ । कोरोना पोजिटिभ देखिएका थुनुवाको सम्पर्कमा केहीको पीसीआर जाँच गर्ने तयारी रहेको छ ।
भेरीमा दोस्रो लटमा थपिएका अरु तीन जना नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का दुई जना र वडा नं. ७ का एकजना रहेका छन् । यसअघि सार्वजनिक गरिएको पहिलो लटमा बाँकेका १६ जनामा कोरोना देखिएको थियो ।