भारतबाट ल्याउने माछा, दूध र हरियो तरकारीमा रोक

नेपालगञ्ज – बाँकेमा भारतबाट आयत हुने माछा, दूध र हरियो तरकारीमा रोक लगाउने निर्णय भएको छ ।
राजनीतिक दल, स्थानीय तहका प्रतिनिधिसहितको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भारतबाट ल्याइने माछा, दूध र हरियो तरकारीलाई रोक लगाउने निर्णय गरेको छ ।
भारतबाट माछा, दूध र हरियो तरकारी बोकेर आउनेका कारण कोरोनाको जोखिम बढेको चौतर्फी गुनासो थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भारतबाट ल्याइने माछा, दूध र हरियो तरकारी कारण कोरोना बढ्ने संभावना रहेकाले रोक लगाइएको बताउनुभयो ।
बाँके नाकाबाट भने माछा, दूध र हरियो तरकारी ल्याउन पहिले देखि नै प्रतिबन्ध रहेको छ । अहिले भित्रिरहेको छैन ।
पूर्वी जिल्लाका नाकाबाट भित्र्याएर बाँकेमा ल्याउने गरिएको थियो । बाँके प्रशासनले त्यसलाई पनि फिर्ता गर्न शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आज नै कुसुमबाट तरकारी फिर्ता गरेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !