पसल खोल्दा प्रहरीको फन्दामा, जरिवाना तिरेर घर फिर्ता

नेपालगञ्ज – निषेधाज्ञालाई उल्लंघन गरेर पसल सञ्चालन गरेका, अटोरिक्सा र मोटरसाइकल चलाएका तथा मास्क नलगाएका व्यक्तिलाई केही घण्टा नियन्त्रणमा लिदै जरिवाना गरेर छोडिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओमबहादुर राना आफै फिल्डमा खटिएर न्यूरोडलगायत ठाउँमा अत्यावश्यक बाहेकका पसल सञ्चालन गरेका, बजारमा अटोरिक्सा र मोटरसाइकल चलाएका, मास्क नलगाएका एक सय १७ जना मान्छे र एक सय १४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिएर जरिवाना गरिएको हो । त्यसबाट २३ हजार एक सय रुपैया राजश्व संकलन भएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो । त्यहाँ क्वारेन्टाइन सञ्चालनमा रहेको छ । अटोरिक्सालाई गणेशमानचोकस्थित निशुल्क लागु औषध परामर्श केन्द्रमा राखिएको थियो ।
राती सात–आठ बजे सबैलाई संक्रमक रोग ऐन २०२० बमोजिम सय रुपैया जरिवाना गरेर छोडिएको छ । फिल्डमा खटिएर नियन्त्रणमा लिने बेलामा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निषेधाज्ञा उल्लंघन गर्नेलाई १४ दिनसम्म क्वारेन्टाइन राख्ने डर देखाउनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !