‘रेक्की’ गरेर चोरी, प्रहरी ‘बेखबर’

नेपालगञ्ज – केही समय अघि नेपालगञ्जको एक मोबाइल पसलमा चोरी भयो । राती भएको चोरीमा २२ वटा मोबाइल र एउटा ल्यापटप लगियो । भोलीपल्टै प्रहरीले पाँच जना चोरलाई समात्यो । चोरका नाइकेलाई कारागार नजिक कोठाबाटै प्रहरीले समातेको थियो ।
त्यसको केही दिन पछि नै प्रहरीले एटीएम फोर्ने चोरलाई समात्यो । यी दुई घटना हेर्दा प्रहरीले ‘खुद्रे’चोरको लिष्ट राखेको देखिन्छ ।
तर, नेपालगञ्जमा रातीमा भन्दा दिउँसोमा ठूला चोरीका घटना भएका छन् । दिउँसो चोरी गर्नेहरु प्रहरीबाट बचेको पाइएको छ । दिउँसोको चोर ‘हाइ प्रोफाइल’ हुने सम्बद्धहरु बताउँछन् । दिउँसोको चोरी योजनावद्ध तरिकाले गरेको पाइन्छ । पटक–पटक ‘रेक्की’ गरेर चोरी गर्ने गरेको प्रहरी अधिकारीहरुकै बुझाई छ ।
जस्तो, साउन ९ गते शुक्रबार कोरियनपुरमा दीपक चन्दको घरमा चोरी भयो । विहान ११ देखि २ बजेको बीचमा घरमा चोरी भएको थियो । चोरले ६ तोला सुन र डेढ लाख रुपैया नगद लगेका छन् । यो जाहेरी पनि प्रहरी कार्यालयमा पुगेको छ । तर, अहिलेसम्म चोर पक्राउ परेका छैनन् ।
यो घटनामात्रै होइन, नेपालगञ्जमा दिउँसोमा चोरी भएका ठूल्ठूला घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमै परेका विगत केही वर्षदेखिका उजुरीलाई हेर्न सकिन्छ ।
केही वर्षअघि वडा प्रहरी कार्यालयका इन्चार्जले दिउँसो चोरी गर्नेको लामो अनुसन्धान गरेर जिल्लाका प्रमुखलाई ब्रिफिङ गरेका थिए । त्यसमा भनिएको थियो, ‘दिउँसो चोरी गर्नेहरु नेपालगञ्जमा चोरी गर्छन् र भारतको बहराइच, लखनऊजस्ता शहरमा गएर मोज गर्छन् । चोरी गरेको पैसा सिधिन्छ अनि फेरि नेपालगञ्जमा आएर चोरी गर्छन् । यी हाइप्रोफाइल चोरले दिउँसोमात्रै चोरी गर्छन् । यी व्यवसायिक चोरले कुन घरका मान्छे दिउँसो हुँदैनन्, चाडबाडमा कतिको गहनाको प्रदर्शन गर्छन्सम्मको रेखदेख गर्छन् ।’
प्रायः हुने रातीको चोरीमा भने बालक, किशोर र लागु औषधीका पारखीहरु लागेको देखिन्छ । नेपालगञ्जको सुर्खेतरोडका नौ वटा सटर एकै राती फोरिदा १३ देखि १८ वर्षका बालक किशोर सामेल थिए । जसलाई प्रहरीले पक्राउ पनि गरेको थियो । पक्राउ परेका चोरहरुले प्रहरी अधिकृतहरुलाई भन्ने पनि गरेका छन्, राती चोरी गर्नेहरु त शिकारु हुन् । ‘बच्चा’हरु हुन् । असली चोरले त दिउँसोमा चोरी गर्छ । जो व्यवसायिक हुन्छ । प्रहरीबाट सधैं टाढा हुन्छन् ।


error: यो सुविधा उपलब्ध छैन !