विभिन्न व्यक्तित्वहरु पुरस्कृत

नेपालगञ्ज – सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल ‘महेन्द्र मधुकर’ को ८५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा आइतबार पुरस्कार, सम्मान तथा बहुभाषिक कवि गोष्ठी समारोहको आयोजना गरी जन्मजयन्ती मनाइएको हो ।
रुकुम जिल्लाको मुसीकोट, शेरीगाउँमा जन्मनु भएका मल्लको २०७२ साल वैशाख ११ गते निधन भएको थियो ।
छोरी÷ज्वाई वाणीश्री मल्ल, बखतबहादुर मल्ल र भेरी साहित्य समाजद्वारा स्थपित प्रेमप्रकाश मल्ल स्मृति कोषबाट हरेक वर्ष सम्मान सहित नगद पुरस्कार वितरण गर्ने क्रममा आइतबार पाँचौं स्मृति दिवसमा चित्रकला, हस्तकला र चित्रकलाको क्षेत्रमा ख्याती प्राप्त श्यामानन्द सिंहलाई २५ हजार एक सय एघार रुपैया नगद रकम सहितको पुरस्कार र सम्मान पत्र प्रदान गरिएको हो । बहुमुखी प्रतिभाका धनी कलाकार सिंहले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ स्थित दुई तले घरमै कला संग्रहालय बनाएर करीव पाँच हजार चित्रकला, हस्तकला र मूर्तिकला संग्रह गर्नु भएको छ । उहाँले फालिएका अखवार, कागज, प्लाष्टिक, फमलगायतका वस्तुहरुबाट भिभिन्न मूर्ति र हस्तकला निर्माण गर्नु भएको छ ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व सदस्य सचिव सनत रेग्मी र कोषका संस्थापक वाणीश्री मल्ल र समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले दोसल्ला ओढाएर उक्त सम्मान र पुरस्कार रकम हस्तान्तरण गर्नु भयो ।
यसअघि उक्त पुरस्कार डा. गोपालप्रसाद अधिकारी, पूर्णलाल चुके, अब्दुल लतिफ शौख, डा. जीवेन्द्र देव गिरि र महेशविक्रम शाहलाई प्रदान गरिएको थियो ।
सृजनाको क्षेत्रमा गायन तथा संगीत र गीत, कविता तथा गजल र सजलका श्रष्टा अत्यन्तै भावुक र सम्वेदनशील कवि मल्लका सिर्जनाहरु प्रकृति प्रतिको प्रेम, राष्ट्रिय भावना र देशभक्तिबाट ओतप्रोत एकदमै छोटा र सटिक लेखन, नयाँ नयाँ शब्द चयन, प्रस्तुती उहाँको साहित्यिक विशेषता हो ।
मधुकर छोटो जीवनी लामो कहानी (लघुकाव्य), एउटा त्यो अजेय शिखर (लघुकाव्य), अनुभूतिका स्वरहरु (गीत–गजल–लघुकविता सङ्ग्रह), सजल (गजल सङग्रह), गाउँदा गाउँदै (कविता सङ्ग्रह), ‘उनी’ रोदन गीति गाथा लगायत दर्जन कृतिहरु प्रकाशित छन् भने रेडियो नेपालमा थुप्रै गीतहरु रेकर्ड र प्रसारण हुने गरेका छन् ।
एक मात्र युवा सुपुत्र गुमाए पछि आफ्नो नामको पछाडी मधुकर उपनाम थप्नु भएका मल्लले जीवन संगिनीको समेत दिवंगत भएपछि मधुकरको अगाडी ‘महेन्द्र’ थप्नु भएको थियो ।
कार्यक्रममा कलाकार श्यामानन्द सिंह कला प्रतिष्ठानका अध्यक्ष तथा सञ्चारकर्मी सागर सिंह ठकुरीद्वारा सिंहका बारेमा तयार गरिएको वृत्त चित्र प्रदर्शन गरिएको थियो ।
यसैगरि सोही कार्यक्रममा लक्षिमा–शेर बहादुर रानाभाट पुरस्कार लेखक भूपेन्द्र प्रकाश शर्मालाई प्रदान गरियो । कथाकार भरतबहादुर रानाभाट र समाजसेवी भीम रानाभाटलगायतका परिवारका सदस्यहरुद्वारा स्थापित उक्त एघार हजार एक सय एघार रुपैयाको पुरस्कार पाउने शर्मा तेस्रो व्यक्तित्व हुनुहुन्छ ।
सोही कार्यक्रममा तिमिल्सिना वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष मीना तिमिल्सिनाद्वारा स्थापित रामेश्वर कमला देवी स्मृति पुरस्कार साहित्यकार गणेश जिसीलाई प्रदान गरियो ।
स्व. मल्ल र पुरस्कृत सिंहका बारेमा समाजका सल्लाहकार पूर्णलाल चुकेले, पुरस्कृत शर्माको विषयमा समाजका महासचिव शशिराम कार्की र जिसीका बारेमा चरित्रा शाहले परिचय सहित उहाँहरुको साहित्यिक योगदान सहित प्रकाश पार्नु भएको थियो ।
समाजका कला संस्कृति उपसमितिका संयोजक लता शर्माले दिनु भएको जानकारी अनुसार समाजले कार्यक्रम कक्षमा कलाकार श्यामानन्द सिंहद्वारा बनाइएका चित्रकला, हस्तकला र मूर्तिकलाहरु प्रदर्शन गरिएको थियो ।


समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तीन वटा कृति विमोचन पनि गरिएको छ । समारोचक प्रा.डा. गोपालप्रसाद शर्मा अधिकारीद्वारा लिखित समालोचनाको यात्रा, मीना बरालद्वारा लिखित मनका छालहरु कविता सङ्ग्रह, शशिराम कार्कीद्वारा लिखित मन्दाकिनी कथा सङ्ग्रह विमोचन गरिएको थियो भने मदनबहादुर केसीद्वारा लिखित झिमरुकको तिरैतिर प्रमुख अतिथि रेग्मी, समाजका अध्यक्ष तिमिल्सिना, कलाकार श्यामानन्द सिंह, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल र कृतिका श्रष्टाहरुले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा पुरस्कारका संस्थापकहरु वाणीश्री मल्ल, भरतबहादुर रानाभाट र मीन बरालले बोल्नु भएको थियो भने पुरस्कृत तीनै जना व्यक्तित्वहरुले पनि बोल्नु भएको थियो ।
समाजका सदस्य लेकप्रसाद प्याकुरेलद्वारा सञ्चालित बहुभाषिक कवि गोष्ठी सहितको वृहद् कार्यक्रममा कलाकार श्यामानन्द सिंहले स्व. मल्लको लोकप्रिय गीत ‘वनकी म चरी’ शीर्षकको बाँसुरीको धुन, गायक प्रभात सुवेदीद्वारा उहाँकै गीत गाउनु भएको थियो भने केही श्रष्टाहरुले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा खजुरा गाउँ पालिकाका प्रमुख किस्मतकुमार कक्षपति, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, भीम ओलीलगायत हुनुहुन्छ ।
कार्यक्रममा विमोचित डा. अधिकारीको कृतिको समीक्षा सह प्राध्यापक डम्बर पुन, मदन केसीको कृतिको इन्द्रबहादुर भण्डारी, शशिराम कार्कीको कृतिको बाँसगढी बर्दिया क्याम्पसका प्रमुख ईश्वरी रिजाल, मीना बरालको कृतिको लेकप्रसाद प्याकुरेलले समीक्षा गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !