कोरोना देखिएपछि ‘मोबाइल अफ’

नेपालगञ्ज – नेपालगञ्जको त्रिभुवनचोकमा बोलाई–बोलाई स्वाव लिने काम भयो । एक सय १७ जनाको स्वाव लिएकोमा तीन जनाको नतिजा पोजिटिभ आयो । त्यसमध्येकी एक थिइन्, नेपालगञ्ज–१२, बेलासपुरमा कोठा भाडामा बस्ने किशोरी ।
शनिबार दिउँसो साढे तीन बजे रिपोर्ट आयो । त्यसपछि किशोरीको मोबाइल अफ भयो । आइसोलेसन सेन्टरमा लैजानु पर्ने किशोरीको मोबाइल अफ भएपछि अधिकारीहरु तनावमा परे । जिल्ला स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकामात्रै होइन, प्रहरीको टोली नै उनलाई खोज्न लागि प¥यो ।
भाडामा बस्ने मान्छे अनि मोबाइल अफ कसरी भेटिनु ? दौडादौड जारी नै थियो । शनिबार फेला परिनन् । आइतबार पनि दौडादौड शुरु भयो । त्रिभुवनचोकमा स्वाव लिएको अनि ठेगानामा नेपालगञ्ज–१२ थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आइतबार किशोरी सम्पर्कमा आएको जानकारी दिनुभयो । दैनिक मजदुरी गरेर खाने किशोरीले १४ दिन आइसोलेसन सेन्टरमा बस्दा आफ्नो कोठा भाडा कसले तिरिदिने चिन्ता गरेकी छन् । यी किशोरी, आन्तरिक राजश्व कार्यालयका अधिकृतलगायतलाई खजुरास्थित क्यान्सर अस्पतालमा लगिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !