यस्तो आयो फाइनल नक्सा
नेपालगञ्ज – नेपालगञ्ज–६, फूल्टेक्रामा क्रिकेट स्टेडियम बनाउने ऐतिहासिक सहमति भएसँगै ‘फाइनल नक्सा’ सार्वजनिक गरिएको छ ।
लामो समयदेखि विवादमा रहेको एघार विगाह जमिनमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, करबला, मिर्चुवाबाबाको पूजा गर्ने स्थल, वडा कार्यालय बन्दैछन् । बाटोतिर करबला, प्रवेशद्वारमै वडा कार्यालय, त्यसपछि एकछेउ मिर्चुवाबाबाका लागि र बीचमा क्रिकेट स्टेडियम बन्ने नक्सामा देखाइएको छ ।
पाँच विगाहबढीमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष एवं क्यानका पूर्व केन्द्रीय सदस्य सुनिलसिंह हमालले जानकारी दिनुभयो । हमालकै संयोजकत्वमा बनेको जग्गा खोजबिन समितिले सिफारिस गरे अनुसार नै फूल्टेक्रामा ऐतिहासिक सहमति भएर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्न थालेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा तत्काल एक करोडको काम गरिदैछ । प्रदेश सरकारले पठाएको यो रकमले माटो पटान गर्ने अधिकारीहरुले बताएका छन् ।
बाँकेमा योसहित दुई वटा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्दैछन् । कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको काम धेरै भइसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने नेपालगञ्जमा एउटा पनि मैदान नहुँदा समस्या रहेको थियो । एमपी स्कूलको चौरमा क्रिकेट खेलेर यहाँका खेलाडीले राष्ट्रिय जर्सी लगाइरहेका थिए । नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने बित्तिकै खेल मैदानको समस्या सदाको लागि हटेर जानेछ ।