साउनभरी नाका बन्द
नेपालगञ्ज – सरकारले लकडाउन खुल्ला गरेपनि सीमा नाका साउन ३२ गतेसम्म बन्द रहने छन् । चैत्र ११ गतेदेखि जारी गरिएको लकडाउन गएराती १२ बजेदेखि खुल्ला भएपनि सीमा नाका भने साउनभरी बन्द रहने भएको हो । भारतबाट घर फर्किने नेपालीलाई नेपालगञ्ज नाकाबाट प्रवेश गराउने काम भइरहेको छ । नाकामा सहज आवागमन ३२ गतेसम्म बन्द गरिएको हो ।
मन्त्रीपरिषद्को निर्णय अनुसार, होटल, रेष्टुरेन्ट साउन १५ गतेदेखि, हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा आउनेछन् । शैक्षिक संस्थाले भदौ १ गतेदेखि भर्ना र परीक्षा मात्र सञ्चालन गर्न पाउने, पठन पाठनबारे पछि निर्णय हुने भनिएको छ । लामो दूरीका सार्वजनिक यातायात पनि भदौ १ गतेदेखि खुल्ने सरकारले जनाएको छ ।