बाँकेमा सलहको बथान, खेतमा बस्न नदिऊ

नेपालगञ्ज – बाँकेको पूर्वी क्षेत्रमा सलह किराको बथान देखिएको छ । नरैनापुर र डुडुवा क्षेत्रमा बुधबारदेखि नै सलह उडिरहेको छ ।
भारतको रुपैडिडा हुँदै नरैनापुरमा प्रवेश गरेको सलह पश्चिमतिर बढ्दै गरेको छ । हावाको झोकासँगै अगाडि बढ्ने सलह पश्चिम बर्दियातिर पुग्ने आकलन गरिएको छ । कृषिसम्बद्ध अधिकारीहरुले ठूलो समूहमा सलह देखिएकाले आफ्नो खेतबारीमा गएर धपाउन आग्रह गरेका छन् ।
कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख सागर ढकालले ठूलो समूहमा सलह देखिएकाले आफ्नो खेतबारीमा बस्न नदिन किसान सचेत हुनुपर्ने बताउनुभयो । ‘कृषि ज्ञान केन्द्रका प्रतिनिधि विहानै नरैनापुर आसपासमा गएर हेरेका छन् । हामी पनि जादैछौं, ढकालले भन्नुभयो, खेतमा बस्न नदिनु नै उत्तम उपाय हो ।’ उहाँका अनुसार, राती बास बस्ने ठाउँलाई निगरानी गर्ने र विहानै गएर स्प्रे छर्किने रणनीति बनाइएको छ । स्प्रेले सलह मर्छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरमा देखिएको सलह पश्चिमतिर बढेकाले बर्दियासम्मका किसानलाई सचेत रहन आग्रह गर्नु भयो । यतिबेला किसानको खेतमा मकै, धान रहेको छ । सलहले सबै बाली खाइदिने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !