लकडाउन अवधिको समय माग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण संघ र प्रदेशले स्वीकृति गरेको अधिकाँश योजना अलपत्र अवस्थामा रहेको भन्दै लकडाउन अवधीभरको समय थप गर्न माग गरेको छ ।
नेपालगञ्जमा मंगलबार सम्पन्न भएकाले ७ औं नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आव्हान गर्न नसकिएकाले अधिकाँश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो ।
‘अर्थ मन्त्रालयले पिएमओमार्फत ठेक्का आव्हान गर्न दिएन, नगरसभामा नगरप्रमुख डा. धवलशमशेर राणाले भन्नुभयो, लकडाउन खुकुलो भएपछि आर्थिकबर्षको अन्तिम महिना सुरुभयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् ।’
अर्थ मन्त्रालयले समयमै काम गर्न नदिएर अहिले बजेट फ्रिज गर्ने हो भने देशभरका स्थानीय तहमा अधिकाँश योजना अधुरो रहने र संरचनाहरु अलपत्र भई खण्डहर हुने भएकाले लकडाउन अवधिभरको समय योजनालाई पूर्णता दिन थप गर्नुपर्ने नगरप्रमुख राणाले माग गर्नुभयो ।
चालु आर्थिकवर्ष २०७६÷७७ मा सबैभन्दा बढि राजश्व संकलन गर्ने ५ वटा वडा कार्यालयलाई सम्मान गरेको छ । चालु आवमा सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा कार्यालयहरु क्रमशः वडा नम्बर १८, वडा नम्बर २, वडा नम्बर १, वडा नम्बर १० र वडा नम्बर ४ लाई नगरसभामा सम्मान गरिएको हो । नगरप्रमुख डा. राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले नगरसभामा वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा, वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १० का अध्यक्ष विन्दुभुषण बस्नेत र वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहनालाई सम्मान गर्नुभयो ।
यसैगरी हालै सेवा निवृत्त हुनुभएका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललाई पनि सम्मान गरिएको छ । नगरसभामा कोभिड–१९ मा महत्वपूर्ण योगदान गर्ने कर्मचारीहरु लेखा अधिकृत लोकेन्द्र रावत, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, महिला विकास अधिकृत मञ्जु पाण्डे, सरसफाई शाखा प्रमुख अशोक केसी, सहायक ५ औं रामकुमार पौडेल, नगर प्रहरी हवल्दार पवनकुमार कनौजिया, नगर प्रहरी चन्द्र राना र सवारी चालक भुपति ढकाललाई पनि सम्मान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका स्तरीय अपाङ्गता सञ्जाल, नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, साईनिङ अस्पतालका सवारी चालक आशिष रानामगरलाई सम्मान गरिएको छ ।
साफ खेलकुदमा भारत्तोलनमा काश्य पदक विजेता प्रकाश केसीलाई ५० हजार, क्रिकेटतर्फ पदक विजेता राष्ट्रिय खेलाडी अविनाश बोहरालाई नगद २१ हजार, जिल्ला हक्की संघ बाँकेको महिला र पुरुष टोलीलाई प्रति टोली ५१ हजार र मुख्यकप कप प्रदेश स्तरीय फुटबलमा प्रथम हुने धम्बोझी क्लवलाई नगद १५ हजार रुपियाँसहित सम्मान गरिएको छ ।
कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने विभिन्न संघ संस्थालाई पनि नगरसभामा सम्मान गरिएको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो ।
नगरसभाले आधुनिक एवम सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि संघ र प्रदेशसँग सहकार्य गर्ने, नगरक्षेत्रमा सडक एवम भवनको मापदण्ड तयार गरि लागु गर्ने, नगरक्षेत्र सफा राख्नेलगायतका निर्णय गरेको छ । नगरप्रमुख डा. राणाले नगरसभाले गरेका निर्णय कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारीसँगै आम नगरबासीसँग आग्रह गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !