आन्दोलनको समर्थन जुटाउदै संघ
नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले राहत कार्यक्रमको माग गर्दै आयोजना गर्न लागेको आन्दोलनका विषयमा बिभिन्न बस्तुगत संघहरुसँग छलफल गरेको छ ।
दुई दर्जन बढि बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिले राहतका लागि दबाब दिने संघको आन्दोलनमा पूर्ण सर्मथन जनाएका छन् ।
महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अस्त व्यस्त बनेको उद्योग, व्यवसायलाई उकास्न राहत प्याकेजको माग गर्दै संघले आन्दोलन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयलाई बस्तुगत संघका अगुवाहरुले समर्थन जनाएका हुन् । कोरोनाका कारण उद्योग, व्यवसाय क्षेत्र सबै भन्दा बढि प्रभावित भएको छ ।
बैंकको ब्याज र सरकारलाई बुझाउनु पर्ने करका कारणले उद्योगी, व्यवसायीहरु कष्टकर अवस्थामा आइपुगेको भन्दै छलफलमा सहभागी उद्योगी, व्यवसायीले आन्दोलनको कार्यक्रम आयोजना गरी सरकारलाई दबाब दिन सुझाव दिए ।
सरकारबाट राहत पाउन नसकेका व्यवसायीले आगामी मौद्रिक नीतिबाट राहत पाउने आशा गरेका छन् । मौद्रिक नीतिबाट व्यवसायीका माग सम्बोधनको दबाब दिन संघले आन्दोलनको कार्यक्रम गर्न लागेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।
संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार, बस्तगत संघसंस्थाको सुझावका आधारमा संघले चाँडै आन्दोलन गरी सरकारलाई दबाब दिने तयारी गरेको छ । मंगलबारको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य लगायत संघका पदाधिकारी एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो ।