कसले खायो धम्बोझी क्लवको पुरस्कार ?

नेपालगञ्ज – नेपालगञ्जको धम्बोझी क्लवले एघार महिना अघि दाङको बेलझुण्डीमा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता जित्यो । ५ नम्बर प्रदेशका सशक्त क्लवका बीच लिग प्रतियोगिता गराइएको थियो । जसमा धम्बोझी क्लवले बाजी मारेको थियो ।
प्रतियोगिता जित्दा धम्बोझीको खुशीको सीमा नै रहेन । बाँकेको सदाबहार धम्बोझी क्लव ५ नम्बर प्रदेशकै च्याम्पियन भयो । क्लवले पाँच लाखको पुरस्कार पनि हात पा¥यो । २०७६ भदौको १२ गते फाइनलका दिन आयोजक प्रदेश लिग सञ्चालक समितिले एक महिना पछि अर्थात असोज १२ गते साट्ने गरी चेक हस्तान्तरण गरे ।


तर, दुःखको कुरा अहिलेसम्म धम्बोझीले पाएको चेक साटिएको छैन । क्लवसम्बद्धहरु पटक–पटक बैंक पुगे । बैंक कर्मचारीको एउटै जवाफ आउथ्यो, खातामा पैसा छैन । त्यसपछि प्रदेश लिग समितिका अध्यक्ष भुपेन्द्र थापा (पुकार) लाई फोन गरिन्थ्यो । उताबाट भनिन्थ्यो, १०-१२ दिनमा साटिन्छ । त्यसपछि फेरि फोन ग¥यो । दशैंपछि, तिहार पछि भन्दै टार्ने काम भयो । हुँदाहुँदा एघार महिना भयो । धम्बोझी क्लवले पुरस्कार पाएको छैन । यतिबेला जो कोही नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ कार्यालयमा गयो भने देख्न सक्छ, ग्लोबल आइएमइ बैंकको चेक । त्यसमा प्रथम पुरस्कार भनेर पाँच लाख रुपैया लेखिएको छ ।
धम्बोझी क्लवका प्रशिक्षक भद्रबहादुर थापाले पटक–पटक सम्पर्क गर्दा पैसा पाउन नसकेकाले अब कानूनी उपचारमा जानु पर्ने बेला आएको बताउनुभयो । वडा नं. १ का अध्यक्ष एवं धम्बोझी क्लवका पूर्वअध्यक्ष प्रमोद रिजालले पुरस्कारका लागि अब दबाब बढाइने बताउनुभयो ।
केही दिनअघि प्रदेश सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले ५ नम्बर प्रदेशको संसदमा यस विषयलाई उठान गर्नु भएको थियो । सांसद हमालले बताउनु भए अनुसार, प्रदेश लिग सञ्चालक समितिको खातामा पैसा गइसकेको छ । तर, विजेताले पुरस्कार रकम पाउन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !